एकतामा कुनै स्वार्थ छैन : कमल थापा

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एकतामा कुनै स्वार्थ छैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई वर्षौँपछि घर फर्किएको अनुभूति भइरहेको बताउनु भएकाे छ । उहाँले यो एकतामा आफ्नो कुनै स्वार्थ नरहेको जिकिर गर्नुभयो ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता भएको छ । बुधबार काठमाडौंमा एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । एकता सभालाई सम्बोधन गर्दै उहाँले २०७८ सालको ऐतिहासिक महाधिवेशनपछि विभिन्न कारणले पार्टीबाट अलग्गिएको भए पनि देशभरको संगठनसहित घर फर्किएको जिकिर गर्नुभयो । 

पार्टी फुटाएको तथा महाधिवेशन हारेर भागेको भनेर लाग्ने आफूमाथि लाग्दै आएको आराेपकाे खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको दाबी गर्नुभयो । उहाँले इतिहासलाई उपेक्षा गर्न नहुने भन्दै सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि बताउनु भयो । 

२०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छोड्नुभएको थियो । चार वर्षपछि दुबै पार्टीबीच एकता सहमति जुटेपछि थापा पुनः मूल राप्रपामा फर्किनुभएको हो । उहाँले राजनीतिक दलहरुको अकर्मण्यताका कारण मुलुक आज समस्या नै समस्याको दलदलमा फसेको आरोप पनि लगाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.