खिल्जी युवा क्लब एनभीए भलिबल च्याम्पियनसिपको पुरूषतर्फको क्वार्टरफाइनलमा

नकआउट चरणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने
पुस १५, २०८२ |खेल ब्युरो
खिल्जी युवा क्लब एनभीए भलिबल च्याम्पियनसिपको पुरूषतर्फको क्वार्टरफाइनलमा

काठमाडौं । खिल्जी युवा क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरूषतर्फको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा ढोरपाटन स्पोर्टस क्लबलाई ३-० ले हराउँदै खिल्जी अन्तिम आठमा पुगेको हो। ढोरपाटन स्पोर्टस क्लबविरूद्ध खिल्जीले पहिलो सेट २५-१५ दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्यो । जारी प्रतियोगितामा खिल्जीको यो पहिलो जित समेत हो । 

समूह 'बी' मा दुबै खेल जितेको नेपाल पुलिस क्लब यसअघि नै यस समूहको विजेताका रूपमा नकआउट चरणमा पुगिसकेको छ । नकआउट चरणमा खिल्जीले बिहिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार नै सम्पन्न पुरूषतर्फको पहिलो खेलमा नेपाल एपीएफ क्लबले मणीमकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । 

समूह 'ए' को अन्तिम खेलमा एपीएफले मणीमकुन्दविरूद्ध पहिलो सेट २५-१० र दोस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट प्रतिस्पर्धात्मक बने पनि एफीएफले २९-२७ को नतिजा हात पार्दै सोझो सेटमा जित हासिल गर्यो । यससँगै एपीएफ समूहकाे उप-विजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्यो । 

दुबै खेल जित्दै टिप टप हेल्प नेपाल स्पोर्टस् क्लब यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । एपीएफले क्वार्टरफाइनलमा समूह 'सी' को विजेता रूकुमपश्चिम भलिबल क्लबको सामना गर्नेछ ।