ज्ञानेन्द्र मल्ल रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा समावेश

पुस १५, २०८२ |खेल ब्युरो
ज्ञानेन्द्र मल्ल रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा समावेश

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा समावेश भएका छन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको १ सय १० समानुपातिक उम्मेदवारको सूचीमा ज्ञानेन्द्र आदिवासी जनजाति क्लस्टरको पाँचौं स्थानमा छन् । अब राष्ट्रिय राजनीतिमा सक्रिय रूपमा सहभागी हुन लागेको भन्ने कान्तिुरको प्रांगनमा मल्लले समय आएपछि सबै कुरा खुल्दै जाने प्रतिक्रिया दिए । 

हाल नेपाली राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षकको जिम्मेवारप्मा रहेका मल्लले ३७ एकदिवसीय अन्तर्राष्ट्रिय र ४५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए। एकदिवसीय क्रिकेटमा मल्लले ८ सय ७६ रन बनाएका छन् । जसमा सात अर्धशतक समावेश छ । 

त्यसैगरी टी-२० अन्तर्राष्ट्रियमा ८ सय ८३ रन जोड्दा उनले एक शतक र दुई अर्धशतक प्रहार गरेका छन् । मल्लले कप्तानको रूपमा १० वटा एकदिवसीय खेलमा नेपालको नेतृत्व गरेका थिए । जसमा नेपालले ६ खेल जितेको छ । टी-२० अन्तर्राष्ट्रियमा उनको कप्तानीमा नेपालले १२ मध्ये ९ खेलमा जित हात पारेको छ । 

सन् २०१४ को टी-२० विश्वकपमा हङकङविरूद्धको उद्घाटन खेलमा नेपालको ८० रनको जितमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । साथै सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्ध नेपालको पहिलो ओडीआई खेलमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी समेत बनेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा उदाउनुअघि मल्लले सन् २००६ र २००८ का दुई वटा अन्डर-१९ विश्वकपमा समेत नेपालको प्रतिनिधित्व गरेका थिए ।