पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने

पुस १३, २०८२ |खेल ब्युरो
पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने

काठमाडौं । जेन-जी प्रदर्शनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यही पुस २३ गते पोखराको न्युरोडस्थित पोखरा सभागृहमा आयोजना हुने भएको छ। 

स्पोर्ट्स अवार्डका लागि आइतबारदेखि खेलाडीको भोटिङ पनि पुन: सुरू गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जानकारी दिएको छ। अवार्ड कार्यक्रमसँगै पुस २२ गते स्पोर्ट्स समिटसमेत आयोजना हुने एनएसजेएफले जानकारी दिएको हो । पिपल्स च्वाइस विधाको रोकिएको भोटिङ आइतबारदेखि नै सुरू भएको छ । 

पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली, पूजा महतो, हिमाल सुनारी, रेखा पौडेल र इभाना थापा रहेका छन् । बाँकी सबै विधाको मनोनयन यसअघि नै भइसकेको छ। अवार्ड समारोहमा १० विधामा खेलाडी, प्रशिक्षक र उत्कृष्ट एसियाली पत्रकारले अवार्ड प्राप्त गर्नेछन्। 

जसमा परुष, महिला र युवातर्फ वर्षको उत्कृष्ट, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेका छन्। वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेताले मोटरसाइकल पाउनेछन्। 

अन्य विधाका विजेताले एक लाख पुरस्कार पाउनेछन। कार्यक्रममा आयोजक टिमका अध्यक्ष निरञ्जन राजवंशीले यति एयरलाइन्ससँग पावर्ड बाई प्रायोजक सम्झौता भएको जानकारी दिए।