
काठमाडौं । अदेमोला लुकम्यानको एक गोल र दुई असिस्टको सहयोगमा नाइजेरियाले अफ्रिका कप अफ नेशन्समा ट्युनिसियामाथि ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
फेजमा सम्पन्न समूह 'सी' को खेलमा नाइजेरियाका लागि पहिलो हाफको अन्त्यतिर भिक्टर ओसिम्हेनले लुकम्यानको क्रसमा हेडमार्फत गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको सुरुआतमै लुकम्यानकै कर्नरमा कप्तान विल्फेड एनडिडीले दोस्रो गोल गरे ।
पहिलो खेलमा पनि निर्णायक गोल गरेका लुकम्यानले ट्युनिसियाविरुद्ध पुनः नायकको भूमिका निभाए । सन् २०१० यता एफकोनको एउटै खेलमा दुई असिस्ट दिने उनी तेस्रो नाइजेरियन खेलाडी बनेका छन् । यसअघि जोन ओबी मिकेलले र एलेक्स इवोबीले यो उपलब्धि हासिल गरेका थिए ।
६७औं मिनेटमा ओसिम्हेनको कटब्याक पासमा लुकम्यानले सुन्दर फिनिस गर्दै नाइजेरियालाई ३-० को सहज अग्रता दिलाए । त्यसपछि ट्युनिसियाले पुनरागमनको प्रयास गर्यो । हानिबल मेज्ब्रीको फ्रिकिकमा मोन्टास्सार ताल्बीले गोल गर्दै अन्तर घटाए भने ८७औं मिनेटमा ब्राइट ओसायी-स्यामुएलको हृयान्डबलपछि पाएको पेनाल्टीमा अली अब्दीले गोल गरे ।
अतिरिक्त समयमा ट्युनिसियाले दबाब बढाए पनि नाइजेरियाले अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हात पार्यो । यो जितसँगै नाइजेरिया एक खेल अगावै समूह 'सी' को शीर्ष दुईमा रहने निश्चित हुँदा अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह 'सी' को अर्को खेलमा तान्जानिया र युगान्डा १-१ को बराबरीमा रोकिए ।
दुबै टोलीका लागि नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न अन्तिम खेल जित्नैपर्ने छ ।