कृषिमा ६० प्रतिशत निर्भरता, तर कृषि अध्ययनमा विद्यार्थी संकट

पुस १३, २०८२ |नारायण किलम्बू
कृषिमा ६० प्रतिशत निर्भरता, तर कृषि अध्ययनमा विद्यार्थी संकट

काठमाडौं । नेपालमा ६० प्रतिशत जनसंख्या कृषिमा आश्रित छन् भने सरकारले पनि कृषिलाई प्राथमिकता दिँदै आएको छ । तर, विश्वविद्यालयमा कृषि विषय अध्ययन गर्ने विद्यार्थीको भने अभाव हुन थालेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा कुल सिटको ५५ प्रतिशतमात्र विद्यार्थी भर्ना भएका हुन् । अझ कतिपय आंगिक क्याम्पसमा त एक जना पनि नयाँ विद्यार्थी भर्ना हुन आएका छैनन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि र वन विषयमा उच्चशिक्षा अध्ययन अध्यापन हुने १० वटा आंगिक क्याम्पस छन् । 

स्नातक तहमा ७ सय ९५ कोटा रहेकोमा ती आंगिक क्याम्पसमा ४ सय ३५ अर्थात् ५५ प्रतिशत मात्र विद्यार्थी भर्ना भएका छन् । दुई वटा आंगिक क्याम्पसमा त एक जना पनि भर्ना हुन आएन् । जबकि १७ सयको हाराहारीमा प्रवेश परीक्षा दिएकामध्ये करिब ५० प्रतिशत विद्यार्थी पास भएका थिए । पास भएकासमेत भर्ना हुन नआएपछि क्याम्पसहरू बन्दको स्थितिमा पुगेका छन् ।

विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा विद्यार्थी भर्ना अति न्यून भएपछि विश्वविद्यालय अनुदान आयोगले अनुगमन गरी प्रवेश परीक्षामा कडाइ गरेकै कारण धेरै विद्यार्थी फेल भएको निष्कर्ष निकालेको थियो । त्यसपछि आयोगले पढ्न चाहने विद्यार्थीका लागि फेरि परीक्षा लिन विश्वविद्यालयलाई निर्देशन दिएको छ । प्रवेश परीक्षाका नाममा पढ्न चाहने विद्यार्थीलाई बञ्चित गर्न नहुने आयोगको भनाइ छ ।

त्यसो त त्यसक्षेत्रका सांसदहरूले कृषि र वन जस्तो आंगिक क्याम्पसमा विद्यार्थी भर्ना हुन नआएपछि चिन्ता व्यक्तगर्दै विश्वविद्यालय अनुदान आयोगसमक्ष हारगुहारसमेत गरेका छन् । त्रिविकै कृषि संकायमा समेत विद्यार्थी अभाव छ । आंगिक क्याम्पसको पूर्ण शुल्क सिटमा ७५ प्रतिशत विद्यार्थी भर्ना हुन नआएको त्रिविले जनाएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।