
काठमाडौं । नेपाली कांग्रेस समानुपातिक सुची निर्माणमा केन्द्रित भएपछि महाधिवेशनको विषयमा ओझेलमा परेको छ ।
केन्द्रीय कार्यालय सानेपामा बसेर नेताहरूले देशभरका प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै सिफारिस आएका उम्मेदवारको नाम कलस्टरअनुसार मिलाउन छलफल गरिरहेका छन् । उम्मेदवारको आकांक्षीहरूबाट कांग्रेसले उम्मेदवार छनोट गर्न आइतबार बिहानदेखि नै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
फागुन २१ मा निर्वाचन हुने भएपछि कांग्रेस त्यसतर्फ केन्द्रित भएको र १ सय १० जना उम्मेदवारको टुंगो लगाएर साेमबार आयोगमा बुझाउने तयारी रहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । भूगोल र जनसंख्याको आधारमा प्रदेशलाई कोटा निर्धारण गरेर छलफल सुरू गरिएको छ ।
कांग्रेसले समानुपातिकतर्फ अवसर पाएकाहरूलाई यसपटक नदोर्याउने सहमति गरेको छ । यसअघि तत्काल प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदलाई नदोर्याउने मापदण्ड बनाएको थियो । अहिले कांग्रेसमा आफ्ना पक्षका नेताहरू सुचीमा समेट्न हानथाप चलिरहेको छ । जसले गर्दा महाधिवेशनको विषय ओझेलमा परेको हो ।