
काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले महिला क्रिकेट टिमका नवनियुक्त मुख्यप्रशिक्षक हर्षल पाठकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
काठमाडौंको मुलपानीस्थित क्यान मुख्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक पाठकले नेपाल विश्वकपमा छनोट हुनेमा आशावादी रहेको प्रतिक्रिया दिए । हालका लागि दुई वर्षको सम्झौतामा रहेका पाठकलाई राष्ट्रिय महिला टीमसँगै उमेर समूह र घरेलु महिला क्रिकेटको संरचना सुधारलगायतको जिम्मेवारी दिइएको छ ।
हाललाई उनको सफलता भने नेपाललाई पहिलो पटक विश्वकपमा पुर्याउनुमा हुनेछ । मुख्य प्रशिक्षक हर्षल पाठकले पत्रकार सम्मेलनमा नेपाली महिला क्रिकेट टोलीको खुलेर प्रशंसा गरे । यसअघि विपक्षी टोलीको प्रशिक्षकका रूपमा नेपालविरूद्ध खेलेको अनुभव स्मरण गर्दै पाठकले नेपाली टोलीलाई स्वभावतः बलियो र प्रतिस्पर्धी टिमको रूपमा व्याख्या गरे ।
दुई वर्षको सम्झौतामा नेपाल आएका पाठकलाई राष्ट्रिय महिला टोलीको प्रशिक्षणसँगै उमेर समूहको विकास र घरेलु महिला क्रिकेट संरचना सुधारको जिम्मेवारीसमेत दिइएको छ । तर तत्कालका लागि उनको मुख्य चुनौती भनेकै नेपाली महिला टोलीलाई पहिलो पटक विश्वकपको मञ्चमा पुर्याउनु हो ।
त्यसो त प्रशिक्षक पाठकको आत्मविश्वास बलियो देखिए पनि नेपाली महिला टोलीको विश्वकपसम्मको यात्रा भने त्यति सहज छैन् । किनभने टोलीको फिटनेस र फिल्डिङ लामो समयदेखि आलोचनाको केन्द्रमा रहँदै आएको छ । टी-२० विश्वकप ग्लोबल छनोटअघि टोलीले सुधार गर्नुपर्ने पक्ष पनि धेरै छन् । तर घरेलु मैदान र समर्थकको साथ नेपाली टोलीका लागि ठूलो ऊर्जा बन्न सक्छ ।
नेपाललाई ग्लोबल छनोट पार गराउँदै विश्वकपसम्म पुर्याउने र नेपाली महिला क्रिकेटको दीर्घकालीन विकासका लागि उमेर समूह र घरेलु संरचना सुदृढ गर्ने कार्यको नेतृत्व पाएका पाठकसँग नेपाली क्रिकेटको अपेक्षा चाहीँ के हो ? नेपालको वातावरण क्रिकेटका लागि अत्यन्त अनुकूल रहेको उल्लेख गरेका प्रशिक्षक पाठकले यसअघि थाइल्यान्डको महिला टोलीलाई पहिलो पटक विश्वकपमा पुर्यएका थिए ।
उनले त्यहीँ सफलता नेपालबाट पनि दोहोर्याउलान् ? अबको पर्खाइँ त्यही हो ।