
काठमाडौं । एसीसी यू-१९ एसिया कपमा अहिले नेपाल र बंगलादेशको खेल जारी छ।
उपाधिको दावेदारसमेत रहेको बंगलादेशले पहिले टस जितेर फिल्डिङ रोजेको छ। यससँगै पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३१ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ३० रन बनाएको हो। यससँगै बंगलादेशले जितका लागि एक सय ३१ रनको लक्ष पाएको हो।
नेपालका लागि ओपनिङमा साहिल पटेल र निरज कुमार यादव आएका थिए। यो ओपनिङ जोडीले ४० रनको साझेदारी गर्न सक्यो। २५ बलमा १८ रन जोडेका साहिललाई साद इसलाम रिजनले क्याचआउट गराएका थिए। वंश क्षेत्री ४ रनमा नै आउट भए।
निरजले पनि २७ बलमा १४ रन मात्रै बनाउन सके। पाँचौ नम्बरका निश्चल क्षेत्री डकआउट भएका थिए। उनलाई मोहम्मद सबुजले बोल्ड गरेका हुन्। चार विकेट गुमाउँदा नेपालले जम्मा ६० रन मात्रै बनाएको छ। मोहम्मदले बंगलादेशका लागि उत्कृष्ट बलिङ गरे। मोहम्मदले सिब्रिन श्रेष्ठलाई पनि कट एन्ड बोल्ड गरेर आफ्नो तेस्रो विकेट पुरा गरेका छन्। १२ ओभर चार बलमा पाँच विकेट गुमाएर नेपालले ६१ रन बनाएको थियो।
त्यसपछि टिमका कप्तान अशोक धामी पाँच रनमा बाहिरिए। अभिषेक तिवारीले भने ३० रनको योगदान गर्न सके। उनले आशिष लुनारसँग ३८ रनको साझेदारी गरे पनि तल्लो क्रममा लामो पारी खेल्न सकेनन्। युवराज खत्री ६ र विपिन शून्यमा आउट भए।
बंगलादेशका शबुजले तीन विकेट लिए भने साद र शरिर अहमदले समान तीन-तीन विकेट लिएका थिए। अहिले बंगलादेशले जवाफी ब्याटिङ गरिरहेको छ।