एनपीएल-२ मा चम्कन नसकेका राष्ट्रिय टिमका स्टार, विश्वकपअघि बढ्यो चिन्ता

मंसिर २८, २०८२ |खेल ब्युरो
एनपीएल-२ मा चम्कन नसकेका राष्ट्रिय टिमका स्टार, विश्वकपअघि बढ्यो चिन्ता

काठमाडौं । शनिबार दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएल सम्पन्न भयो । 

यो प्रतियोगिता सुरू भएको जम्मा दुई वर्षमात्र भएको छ । तर छोटो अवधिमै एनपीएलले नेपाली क्रिकेटमा आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाइसकेको छ । यसै कारण यसलाई राष्ट्रिय टिमका चयनकर्ता र मुख्य प्रशिक्षकले समेत नजिकबाट नियाल्ने गरेका छन् । 

एनपीएल फ्रेन्चाइज प्रतियोगितामै सीमित नहुँदा यो राष्ट्रिय टिममा पुनरागमनको सबैभन्दा ठूलो मञ्च बनेको छ । यहाँ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि राष्ट्रिय जर्सीमा फर्कने ढोका खुल्छ भने अपेक्षित प्रदर्शन गर्न नसक्दा टिमबाट बाहिरिने जोखिम पनि उत्तिकै बढ्छ । 

यही सन्दर्भमा, आज हामी दोस्रो संस्करणको एनपीएलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेका राष्ट्रिय टिमका नियमित सदस्यहरू र प्रतियोगिताअघि निकै हाइप बनाएका तर मैदानमा त्यसलाई न्याय दिन नसकेका खेलाडीको चर्चा गर्दैछौं ।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स यस सिजन आफ्ना समर्थकलाई सबैभन्दा बढी निराश पार्ने टोली बन्यो । गत सिजन उपाधि जितेको जनकपुर यस पटक भने लिग तालिकाको पुछारमा सीमित रह्याे । जनकपुरका स्टार खेलाडीहरू व्यक्तिगत रूपमा पनि प्रभाव छोड्न असफल रहे ।

मार्की खेलाडी आसिफ शेख तथा 'ए' श्रेणीका खेलाडी अनिल साह र ललित राजवंशी तीनै जनाको प्रदर्शन बिर्सनलायक रह्याे । बोल्ट्सले यी तीन खेलाडीका लागि मात्रै ५० लाख रूपैयाँ खर्च गरेको थियो । यी तीनै खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य सदस्य पनि हुन् ।

मार्की खेलाडी आसिफ शेख यस पटक लयमै देखिएनन् । टी-२० विश्वकपको पूर्वसन्ध्यामा राष्ट्रिय टिमका ओपनरको ब्याट मौन रहँदा समर्थकबीच चिन्ता र चासो स्वाभाविक रूपमा बढेको छ । प्रतियोगितामा उनले ७ खेलमा केवल १५ को औसतमा १ सय १२ दशमलव ९० को स्ट्राइकरेटसहित जम्मा १ सय ५ रन मात्र बनाए । 

यस अवधिमा उनले एक अर्धशतक प्रहार गरे पनि तीन खेलमा रनको खाता खोल्न सकेनन् । पाँच खेलमा विकेट किपिङ गरेका आसिफ दुई डिस्मिसलमा मात्र प्रत्यक्ष संलग्न रहे । अनिल साहका लागि पनि यो सिजन सम्झनलायक बन्न सकेन । 

गत संस्करणमा च्याम्पियन कप्तान बनेका अनिल यस पटक भने बीच सिजनमै कप्तानीबाट हटाइए । एक खेलमा त उनी बेञ्चमै सीमित हुनुपर्‍यो । ६ खेलमा जम्मा ७३ रन बनाउँदा उनको औसत १२ दशमलब एक छ रह्याे भने स्ट्राइकरेट पनि १०० भन्दा तल । दुई खेलमा उनी डकआउट भए ।

जनकपुरकै अर्का महत्वपूर्ण खेलाडी ललित राजवंशीले पनि यस पटक समर्थकलाई निराश पारे । गत सिजन १७ विकेट लिँदै जनकपुरलाई च्याम्पियन बनाएका ललितले उत्कृष्ट बलर घोषित हुँदै मोटरसाइकल पुरस्कार जितेका थिए । तर यस सिजन टोलीको भरोसा उनीमाथि त्यति देखिएन । पाँच खेलमा अवसर पाएका ललितले चार विकेटमात्र लिन सके । 

१८ दशमलव ४ ओभर बलिङ गर्दै ७ दशमलव २३ को इकोनोमीमा १ सय ३५ रन खर्चिए । दुई खेलमा त उनी विकेटविहीन नै रहे । चर्चाअनुसार प्रदर्शन गर्न नसकेका अर्का खेलाडी हुन्, मोहम्मद आदिल आलम । अक्सनका क्रममा आठै टोलीबीच उनलाई भित्र्याउन तीव्र प्रतिस्पर्धा चलेको थियो । 

अन्ततः भाग्यचिठ्ठामा उनी काठमान्डु गोर्खाजमा पुगे । गोर्खाजले प्लेअफसम्मको यात्रा तय गरे पनि आलमको ब्याट खासै चलेन । बलिङतर्फ त पूरै प्रतियोगिताभर उनले केबल एक ओभर मात्र पाए । आठ खेलमध्ये सात इनिङ्समा उनले जम्मा ९३ रन बनाए । ४८ रन नटआउट नै उनको उच्च स्कोर रह्याे ।

यसबाहेक कुशल मल्ल, पवन सर्राफलगायत अन्य केही खेलाडीको प्रदर्शन पनि अपेक्षाअनुसार हुन सकेन । तर कुनै एक प्रतियोगिताको आधारमा खेलाडीको सम्पूर्ण क्षमताको मूल्याङ्कन गर्नु उपयुक्त हुँदैन । क्रिकेट पुनरागमनको खेल हो । 

यहाँ असफलतापछि पुनः कमब्याक गरेका उदाहरण प्रशस्त छन् । एनपीएलमा प्रदर्शन गर्न नसके पनि आम समर्थककले टी-२० विश्वकपअघि राष्ट्रिय टिमका खेलाडीहरू लयमा फर्किएको हेर्न चाहन्छन् ।