नवौं संस्करणको क्लब भलिबल च्याम्पियनसिप आगामी पुस दोस्रो साता गर्ने तयारी

क्लब दर्ता सुरु, २० भन्दा धेरै टिम सहभागी हुने
मंसिर २८, २०८२ |खेल ब्युरो
नवौं संस्करणको क्लब भलिबल च्याम्पियनसिप आगामी पुस दोस्रो साता गर्ने तयारी

काठमाडौं । नवौं संस्करणको पुरूष तथा महिला भलिबल क्लब च्याम्पियनसिप आउँदो पुस ११ देखि १९ गतेसम्म आयोजना हुने भएको छ। 

नेपाल भलिबल संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी च्याम्पियनसिपबारे जानकारी दिएको हो। भलिबल संघले लिगका लागि क्लबको दर्तासमेत सुरू भएको जानकारी दिएको छ। अब पुस ५ गतेसम्म जिल्ला, प्रदेश र क्लबहरूले च्याम्पियनसिप खेल्नका लागि १५ हजार दर्ता शुल्क तिरेर दर्ता गर्न सक्नेछन् । 

१५ हजार तिर्न नसक्ने सहभागीलाई एनभिएल छुट दिइनेछ । तर सहभागीताको खर्च सहभागी क्लब आफैंले ब्यहोर्नु पर्नेछ। दशरथ रंगशालाको कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपबाट पुरूषतर्फ ८ र महिलातर्फ ६ क्लब लिगमा छनोट हुनेछन्। 

भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले सहभागिताको हिसाबले च्याम्पियनसिप भलिबलको सबैभन्दा ठूलो प्रतियोगिता भएको बताएका छन्। भलिबल संघले सहभागी क्लबको निरन्तरता र टिमको गुणस्तरमा ध्यान नदिएको भन्दै आलोचनाको पनि सामना गरिरहेको छ।

सहभागी सबै टिमले तीन जना विदेशी खेलाडीसमेत राख्ने पाउनेछन्। पुरूषतर्फ १३ टिम र महिलातर्फ पनि ८ भन्दा बढी क्लब सहभागी रहने संघको अपेक्षा छ। ८० लाख बजेट रहेको प्रतियोगिताका विजेताले ५ लाख पुरस्कार पाउनेछन् । 

त्यसैगरी उपविजेताले साढे २ लाख र तेस्रो हुने टिमले एक लाख २५ हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट पुरूष र महिला खेलाडीले समान २५-२५ हजार पुरस्कार पाउनेछन्। च्याम्पियनसिप हरेक वर्ष आयोजना गरिँदै आएको भए पनि गत वर्ष भने आयोजना भएको थिएन । प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ।