
काठमाडौं । दुबईमा सम्पन्न आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका नेपाली बक्सर चन्द्रबहादुर थापासहित सहभागी अन्य खेलाडी र प्रशिक्षण दललाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्तलमा भव्य स्वागत गरिएको छ ।
बक्सिङ टोलीलाई नेपाल प्रहरी ब्यान्डले बाजा-गासासहित स्वागत गरेको हो । टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राखेपका सदस्य सचिव रामचरित्र मेहता र नेपाल बक्सिङ महासंघका पदाधिकारीले स्वागत गरेका हुन् ।
५४ केजी तौल समूहको सेमिफाइनलमा चन्द्रबहादुर काजकिस्तानका बक्सर विबोसिनोभ सकेनसँग ५-० ले पराजित भएका थिए । तर सेमिफाइनल पुगेसँगै उनले कास्य पदक पक्का गरेका थिए । चन्द्रले आईबीए वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा कास्य जित्ने पहिलो नेपाली बक्सरको इतिहास बनाएका छन् । उनले भविष्यमा नेपाललाई स्वर्ण पटक दिलाउने गरी मिहिनत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले कास्य पदकको पुरस्कारस्वरूप ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका थिए । आयोजक इन्टरनेसनल बक्सिङ एसोसिएसन आईबीएको नियमअनुसार विजेता खेलाडीले ५० प्रतिशत, राष्ट्रिय संघले २५ र प्रशिक्षकले २५ प्रतिशत रकम पाउनेछन् । यस पदकले विश्वले नेपाली बक्सिङलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको प्रशिक्षक दीपक महर्जन बताएका छन् ।
आईबीए मेन्स वर्ल्ड बक्सिङमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जस मध्य ४८ केजीमा लालप्रसाद उप्रेती क्वार्टरफाइनलसम्म पुगका थिए । उनले १० हजार अमेरिकी डलर पुरस्कार पाएका थिए । अन्य खेलाडीमा फुङलाङ काम्बाड, खगेन्द्र रोकामगर र दीपक श्रेष्ठले नेपालको प्रतिनिधितव गरेका थिए । उनीहरुको प्रशिक्षकको जिम्मेवारी आईबीए थ्री स्टार प्रशिक्षक दीपक महर्जनले निर्वाह गरेका थिए ।