दोस्रो प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने

मंसिर २६, २०८२ |अर्जुन सुवेदी
दोस्रो प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने

सुनसरी । इटहरीमा माघ १ गतेदेखि हुने दोस्रो चन्द्रमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । 

चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा माघ १ देखि ३ गतेसम्म हुने प्रतियोगितामा कोसी प्रदेशका १४ जिल्लाका पाँच सय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । इटहरी रङ्गशाला परिसरको कभर्डहलमा हुने प्रतियोगितामा जुनियर र सिनियर विधामा विभिन्न उमेर समूहअन्तर्गत ४३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष कुमार गुरूङले जानकारी दिए । 

उक्त प्रतियोगिताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि सहयोग पुग्ने बताइएको छ । करिब सात लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ५० हजार र शिल्ड प्रदान गरिनेछ । 

दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट पुरूष र महिला खेलाडीलाई जनही नगद पाँच हजारसहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रदेशका विभिन्न जिल्लाका धेरै खेलाडीहरू बीच प्रतिस्पर्धा हुँदा क्षमतावान् खेलाडी निस्कने भएकाले गत वर्षदेखि सुरू भएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको अध्यक्ष गुरूङले जानकारी दिए ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।