.png&w=1000&height=550)
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
बुधबार भएको एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई चार विकेटले पराजित गरेर लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँगको भेट पक्का गरेको हो। गोर्खाजले दिएको एक सय १२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर चार बलमा ६ विकेट गुमाएर पुरा गरेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको भए पनि काठमान्डुले कमजोर सुरुआत गर्यो। उसको शीर्ष क्रम मात्रै नभएर पुरा ब्याटिङ लाइनअपलाई नै लुम्बिनीका बलरले कोल्याप्स पारेपछि गोर्खाज १९ ओभर एक बलमा एक सय ११ रन बनाएर अलआउट भयो।ओपनिङमा आएका आकाश त्रिपाठी र तेस्रो नम्बरका सन्नी पटेल क्रमशः एक र सात रन बनाएर आउट भए।
शेर मल्लले त्रिपाठीलाई क्याचआउट गराए भने रुबेन ट्रम्पलमनले पटेललाई एलबिडब्ल्यु धरापमा पारे। मिलिन्द कुमार २ रनमा बोल्ड भए। ट्रम्पलमेनले ओपनर बेन र्चाल्सवेथलाई ४ रन बनाएको अवस्थामा क्याचआउट गराएका थिए। यससँगै पावर प्लेभित्रै काठमान्डुले १२ रन बनाएको अवस्थामा चार विकेट गुमायो।
मध्यक्रममा पनि ब्याटरले दबाबलाई झेल्न नसक्दा भीम सार्की १४, जोन सिम्पसनले १८ र राशिद खानले दुई रनको मात्रै योगदान गर्न सके। यी तिनै खेलाडीलाई रोहित पौडेलले पवेलियन फर्काएका थिए। सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। अन्तिममा मोहम्मद आदिल आलम १८ रनमा बाहिरिए। शेर मल्लले चार ओभर बलिङ गरेर २२ रन मात्रै खर्च गर्दै तीन विकेट लिएका थिए। ट्रम्पलमनले तीन दशमलव एक पाँचको इकोनोमीका बलिङ गरे।
ठूलो स्कोरको लक्ष्य नभएपछि लुम्बिनीले पनि खेलमा सुस्त सुरुआत गर्दै जवाफी ब्याटिङ सुरु गर्यो। यद्यपी उसले १४ बल बाँकी रहँदै लक्ष्य पुरा गरेको हो। ओपनर दिनेश अधिकारी पाँच बलमा चार रन बनाएर बाहिरिए। त्यसैगरी २५ बलमा १८ रन जोडेका रोहित पौडेललाई शाहब आलमले बोल्ड गरिदिए।
राखिद खानको बलिङमा डार्सी सर्ट विवादास्पद आउट भए। उनको पाखुरामा लागेको जस्तो देखिएको बलमा विकेटकिपर सिम्पसनले क्याच गरेका थिए। ३४ बलमा ३३ रन बनाएका उनी असहजताका साथ मैदान बाहिरिएका थिए। समझदार ब्याटिङ गर्ने क्रममा सन्दीप जोरा २३ बलमा २३ रन बनाएर आउट भए।
निरोशन डिकवेल्ला १४ रनमा बाहिरिए पनि टिम जित नजिक पुगिसकेको थियो। अन्तिममा ट्रम्पलमनले चौका प्रहार गरेर लुम्बिनीलाई जित दिलाएका हुन्। काठमान्डुका सन्तोष यादवले दूई तथा करण केसी, सन्नी, साहब तथा राशिदले एक एक विकेट लिए पनि लायन्सलाई जितसम्म पुग्नबाट रोक्न सकेनन्।
लिग चरणको खेलमा भने काठमान्डुले लुम्बिनीमाथि २२ रनको जित हात पारेको थियो। विराटनगर र लुम्बिनीबीचको दोस्रो क्वालिफायर भोलि हुनेछ।