
काठमाडौं । लियोनेल मेसीको क्लब इन्टर मायामीले गए रातिको फाइनल खेलमा भ्याकुभर क्याप्सलाई ३-१ ले हराउँदै एमएलएस कप जित्यो ।
यो इन्टर मायामीले जितेको अहिलेसम्मको सबैभन्दा ठूलो उपाधि हाे । स्थापनाको सात वर्षमै महत्वपूर्ण तीन उपाधि जितेको यो क्लबको यात्राबारे आज हामी चर्चा गर्दैछौं ।
बिसौं शताब्दीका सर्वोत्कृष्ट खेलाडीका रूपमा चिनिन्छन् लियोनेल मेसी । अर्जेन्टिनालाई फिफा विश्वकप जिताइसकेका मेसीको जीवनमा अहिले नयाँ उपाधि थपिएको छ - एमएलएस कप च्याम्पियनको । केही सिजनअघिसम्म लिगको पुछारमा रहेको क्लबलाई आजको सफलतासम्म पुग्न मेसी र डेबिड बेकहमले कसरी डोर्याए त ?
मानिसहरू स्टार खेलाडीको खेल हेर्न रूचाउँछन् भन्ने तथ्यलाई सुरूबाटै बुझेको अमेरिकी मेजर लिग सकर क्लब इन्टर मायामीले सन् २०२३ मा अर्जेन्टिनी स्टार लियोनल मेसीलाई अनुबन्ध गर्न सफल भयो । एप्पल र एडिडासजस्तो विश्वविख्यात कम्पनीको सहयोगले यो अनुबन्ध सफल भएको थियो ।
त्यो रात मालिक डेबिड बेकहम जापानमा थिए, बिहान पाँच बजे उनले समाचार हेरे, एउटा सामान्य एमएलएस क्लबको चर्चा अमेरिकामा मात्रै थिएन, युरोप, एसिया र अफ्रिकामा समेत सानसनी मच्चाएको थियो । मेसी अनुबन्ध भएपछि क्लबको सबैजसो खेलको दर्शक संख्या २० प्रतिशतले बढ्यो, टिकट सोल्डआउट हुनथाल्यो भने मूल्य तीन गुणाले बढ्यो ।
१० खेलमा नै विश्वव्यापी स्ट्रिमिङ दोब्बर भयो । सामाजिक सञ्जालमा क्लबका फ्यान २० लाखबाट झन्डै पाँच करोड पुगेका छन् । आजभोलि त मायामीसँगको खेलको टिकट बिक्री १७ सय प्रतिशतले बढेको छ । मायामीको खेल अहिले फुटबल मनोरञ्जनमा मात्रै सीमित नभएर स्टार सेलिब्रेटीको मिटअप गर्ने ठाउँ पनि भएको छ । खेल हेर्न विल स्मिथ, सरिना विलियम्सदेखि टम ब्राडीजस्ता खेल आइकन र पप सेलिब्रेटी पुग्ने गरेका छन् ।
अमेरिकी खेल बजारमा मायामीमा मेसीको अनुबन्धले नयाँ उछाल ल्याएको छ । केही वर्षअघि ५४ मिलियन डलर रहेको मायामीको बजेट अहिले सवा दुई सय मिलियन डलरको भएको छ । केही वर्षमै सवा तीन सय मिलियन बटेज हुने क्लबका व्यापार प्रमुख असेन्सी बताउँछन् ।
सन् २००७ मा डेबिड बेकहम एलए ग्लेक्सीमा अनुबन्ध हुँदा पाएको आर्थिक सहायताको उपयोग गर्दै उनले सन् २०१३ मा अमेरिकी मेजर लिग सकरमा क्लब किन्ने निर्णय गरेका थिए । फुटबलमा खासै प्रभाव नभएको क्षेत्र मायामीलाई उनले क्लबको उद्गम क्षेत्र बनाएका थिए ।
सन् २०१८ मा स्थापना भएको क्लबले एमएलएसमा २०२० मा मात्रै डेब्यु गरेको हो । यतिबेला उसको यात्रा यति सहासिक बन्ला भन्ने कसैले कल्पना गरेको थिएनन् । कारण, लिग खेल्ने क्लबका रूपमा मायामी जम्मा पाँच वर्षको मात्रै भएको छ । तर यसको सफलता शताब्दी पुराना क्लबको जत्तिकै बनेको छ ।
एकता र भावनाले दिशानिर्देशन गर्ने क्षेत्र भएकाले खेलकुदमा समर्थकको सहभागिता फरक किसिमको हुन्छ । मनोरञ्जनको ठूलो बजार भएको कारण फुटबलमा खेलको गुणस्तरले प्रत्यक्ष प्रभाव पार्छ । जुन मेसीको आगमनले समर्थकमा विश्वास भर्ने काम गर्यो । उनले पनि समर्थकलाई निराश बनाएनन् । अहिले यसैको हाइपमा रमाइरहेको छ इन्टर मायामी ।