एनपीएलअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडदै

आफ्नो अन्तिम खेलमा दुबै टोली जित हात पार्दै सिजन अन्त्य गर्ने योजनामा
मंसिर २१, २०८२ |खेल ब्युरो
एनपीएलअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडदै

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएल २०२५ अन्तर्गत लिग चरणको अन्तिम खेलमा आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल दिउँसो साढे ३ बजे सुरू हुनेछ । तालिकाको पुछारमा रहेका दुबै टोली यस पटक प्लेअफ सम्म पुग्न सकेनन् । गत सिजन बोल्ट्स र याक्सले दोस्रो क्वालीफायर्समा प्रतिस्पर्धा गरेका थिए । आफ्नो अन्तिम खेलमा दुबै टोली जित हात पार्दै सिजन अन्त्य गर्ने योजनामा हुने छन् । दुवै टिमका लागि यो प्रतिष्ठाको लडाइ हुनेछ ।

यस सिजन दुवै टिमले एक-एक खेलमा मात्र जित हात पारेका छन् । बोल्ट्सले चितवन र याक्सले लुम्बिनीलाई पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले यस सिजन ६ खेलमा ३ जना कप्तान परिवर्तन गर्यो । नेपाली र विदेशी कुनै खेलाडीले कन्सिस्टेन्स प्रदर्शन गर्न नसक्दा उसको उपाधि रक्षा गर्ने अभियान निकै खराब नोटमा समाप्त भएको हो । 

प्रतियोगिताका शीर्ष २० रन कर्तामा समेत जनकपुरका कुनै खेलाडी समेल छैनन् । टिमका लागि संजय कृष्णमुर्तीले १ सय १६ रन बनाएका छन् । उनी शीर्ष रनकर्ताको सूचीमा २२औं स्थानमा छन् । कृष्णमुर्तीलेनै जनकपुरका लागि सर्वाधिक ६ विकेट लिएका छन् । अन्य खेलाडीबाट खास योगदान हुन नसक्दा जनकपुरले यस सिजन निकै फितलो प्रदर्शन गरेको हो ।

कर्णलीका लागि मार्क वाटले अहिलेसम्म २ सय ४२ रन बनाएका छन् । उनी प्रतियोगिताको दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । नन्दन यादवले ९ विकेट लिएका छन् । आवस्यकताअनुसार अन्य खेलाडीबाट राम्रो प्रदर्शन नहुनु कर्णालीको खराब सिजनको कारण बन्यो ।

गत सिजन यी दुई टोली लिग चरण र दोस्रो क्वालिफायर्समा प्रतिस्पर्धा गरेका थिए । जहाँ जनकपुरले लिग चरणमा ८ विकेट र दोस्रो क्वालिफायर्समा २ विकेटको जित हात पारेको थियो । यो खेल हार्ने टोलीले पुछारमा रहेर लिग समाप्त गर्नेछ । त्यसकारण दुबै टिम जितसहित सातौं स्थानमा रहेर लिग समाप्त गर्ने लक्ष्यमा हुने छन् । ६ खेलमा सान २-२ अंक रहेका कर्णाली र जनकपुर क्रमश: सातौं र ८औं स्थानमा छन् ।