
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ-साफको आयोजनमा पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियसिप शक्रबारदेखि काठमाडौंमा आयोजना हुँदैछ ।
पाँच देशका पाँच क्लब सहभागी प्रतियोगितामा नेपालको एपीएफले साँझ छ बजे नसरिन स्पोर्ट्सको सामना गर्नेछ। प्रतियोगितामा नेपालको घरेलु लिग विजेता एपीएफ क्लब, पाकिस्तानको कराँची सिटी, बंगलादेशको नसरिन स्पोर्ट्स, भुटानको ट्रान्सपोर्ट एफसी र भारतको इस्ट बंगाल क्लब सहभागी छन्।
पहिलो पटक हुन लागेको प्रतियोगिताका कारण खेलाडी उत्साहीत छन्। तर बिहीबार आयोजित प्रि-म्याच प्रेस कन्फरेन्समा इन्डोनेसियाबाट भर्खरै खेलेर फर्किएका कारण क्लबमा तयारी गर्न समय कम भएको कप्तान अनिता बस्नेतले बताएकी छन्।एपीएफले यो प्रतियोगिताका लागि मिना देउवालाई अनुबन्ध गरेको छ ।
युवा खेलाडी पनि सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता रहेका कारण यसले नयाँ खेलाडीको परीक्षण हुने र एक्सपोजर मिल्ने एपीएफका प्रशिक्षक जिवेश पाण्डेले बताएका छन् । नेपालमा दुई पटक महिला साफ च्याम्पियसिपको उपाधि जितेको बंगलादेशको नसरिन स्पोर्ट्स क्लबले पनि उपाधि जित्ने लक्ष्य रहेको जनाएको छ ।
कप्तान संजिदा अख्तरले बंगलादेशको उक्त बर्चस्व कायम राख्नुपर्ने दबाब रहेको बताइन् । पाकिस्तानी क्लब कराँची सिटीकी कप्तान मारिया खानले यो च्याम्पियनसिप राष्ट्रिय टिमको प्रतिनिधित्व गरेझैं अनुभव भएको उल्लेख गरिन् । च्याम्पियनसिपका खेल राउन्ड रोबिन शैलीमा हुनेछन्। लिग चरणमा शीर्ष र दोस्रो स्थानको टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । उपाधि जित्ने टिमले १० हजार डलर नगद पुरस्कार पाउनेछ।