
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपको सदस्य सचिवका रूपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले पदभार ग्रहण गर्नु भएको छ ।
एक सातादेखि रिक्त्त रहेको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को व्यवस्था नभए सम्मका लागि सह-सचिव मेहतालाई जिम्मेवारी दिएको हो । खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम अर्को व्यवस्था नभए सम्मका लागि मन्त्रालयको मंसिर १६ गतेको निर्णयअनुसार जिम्मेवारी दिएको छ। यही मंसिर १२ गते टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकाल पुरा गरी विदा लिनु भएपछि सदस्य सचिवको पद रिक्त थियो ।
परिषद्मा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरूलाई सदस्य सचिव मेहताले सुसाशन र पारदर्शी रूपमा कानून सम्मत कार्य सम्पादन गर्न निर्देशन दिनु भयो । आफू सदस्य सचिवको पदमा रहुन्जेल परिषद्मा नमूना योग्य काम गर्ने पनि उहाँले उल्लेख गर्नु भयो ।
परिषद्का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा संगठन संरचना तथा व्यवस्थापन सर्भेलगायतका काम प्रमुख दायित्व भएको उल्लेख गर्नु भएको थियो ।मेहतालाई परिषद्मा कार्यकारी समिति सदस्यहरू कमल भट्टराई, भानबहादुर चन्द बोर्ड सदस्यहरू परिषद्का विभाग र शाखा प्रमुख तथा कर्मचारीहरूले स्वागत गर्नु भएको थियो ।