एनपीएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै

लुम्बिनीको प्लेअफमा पुग्ने लक्ष्य, जनकपुरलाई जित्नै पर्ने दबाब
मंसिर १९, २०८२ |खेल ब्युरो
एनपीएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिगको २५औं खेलमा शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । 

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो ४ बजे सुरू हुनेछ । यो खेल दुबै टिमका लागि निकै महत्वपूर्ण रहने छ । लुम्बिनीले यस खेलमा जित हात पारे उ प्रतियोगिताको प्लेअफमा पुग्ने चौथो टोली बन्ने छ । यसअघि सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायर्समा प्रवेश गरिसकेको छ भने काठमान्डु र विराटनगरले प्लेअफमा स्थान बनाइसकेका छन् । रोहित पौडेलको टोली जितसहित प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।

अर्कोतर्फ साविक विजेता जनकपुरलाई प्लेअफ सम्भावना जोगाइराख्न यो खेल जित्नै पर्ने दवाव छ । जनकपुरको जितले पोखरा र चितवनको समेत प्लेअफ सम्भावना जिवित हुनेछ । अनिल साहको कप्तानीमा जनकपुर यो खेलमा राम्रो रन रेटसहित जित हात पार्ने योजनामा हुनेछ ।

लुम्बिनीले आफ्नो पछिल्लो खेलमा विराटनगर किङ्सलाई ५ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको थियो । यस सिजन लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक १ सय ७४ रन जोडिसकेका छन् । बलिङतर्फ सेर मल्ल लुम्बिनीका सबैभन्दा सफल बलर हुन् । उनले ८ विकेट निकालेका छन् ।

जनकपुरले आफ्नो पछिल्लो खेलमा चितवन राइनोजविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेटले जित दर्ता गरेको थियो । जुन डिफेन्डिङ च्याम्पियनको यस सिजनको पहिलो जित समेत थियो । यस सिजन जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले सानदार अलराउन्ड प्रदर्शन गरेका छन् । उनले १ सय २ रन बनाउनुका साथै ५ विकेट लिएका छन् ।

गत सिजन यी दुई बिचको खेल निकै रोमाञ्चक भएको थियो । जनकपुरले १ सय ३६ रनको योगफल रक्षा गर्ने क्रममा १ रनको सनसनीपूर्ण जित हात पारेको थियो । लुम्बिनी लायन्स ६ खेलमा ३ जित सहित अंक तालिकाको चौथो स्थानमा छ । ५ खेलमा २ अंक जोडेको जनकपुर पुछारमा छ ।