एसीसी यू-१९ प्रिमियर कपमा नेपाल पराजित, यूएईलाई उपाधि

मंसिर १५, २०८२ |खेल ब्युरो
एसीसी यू-१९ प्रिमियर कपमा नेपाल पराजित, यूएईलाई उपाधि

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न एसीसी पुरूष यू-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । 

नेपाललाई २७ रनले पराजित गरेर आयोजक यूएईले उपाधि चुमेको हो । फाइनलमा यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५-२५ रनको योगदान गरे पनि जिताउन सकेनन् । यूएईका युग जै शर्मा र अली असगर शम्सले तीन-तीन विकेट हात पारे ।

यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक यूएई ४५ दशमलव पाँच ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले छ, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक-एक विकेट लिए ।

यसैबीच नेपाल र यूएई एसिया कप खेल्नका लागि भने यसअघि नै छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान थियो । यू-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।-रासस