दृष्टिविहीन महिला टी-२० विश्वकप : उपविजेता बनेको नेपाली टोलीलाई प्रधानमन्त्रीद्वारा बधाइ

मंसिर ८, २०८२ |खेल ब्युरो
दृष्टिविहीन महिला टी-२० विश्वकप : उपविजेता बनेको नेपाली टोलीलाई प्रधानमन्त्रीद्वारा बधाइ

काठमाडौं । दृष्टिविहीनका लागि पहिलो महिला टी-२० विश्वकप क्रिकेट-२०२५ को उपविजेता बनेको नेपाली टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाइ दिनुभएको छ।

कठिन परिस्थितिमा निरन्तर मेहनत गर्दै आएको नेपाली महिला दृष्टिविहीन टिमले फाइनलसम्मको यात्रामा उत्कृष्ट प्रदर्शन गरेको थियो। उहाँले विश्वमञ्चमा नेपालको सम्मानजनक स्थान सुरक्षित गरेको भन्दै बधाइ दिनुभएको हो । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत टिमलाई बधाइ दिँदै शारिरीक अवस्थाका फरक चुनौतीहरूका बाबजुद खेलाडीले देखाएको आत्मबल, समर्पण र क्षमता नेपालको गौरव बनेको उल्लेख गर्नुभएको हो । 

दैनिक जीवनका कठिन बाधा पार गर्दै विश्वमञ्चसम्म पुगेका यी खेलाडीहरूले नेपाल र नेपालीको शिर उचो पार्ने काम गरेको उहाँको भनाइ छ। आइतबार कोलम्बोमा भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएर नेपाल विश्वकपमा उपविजेता बनेको थियो ।

भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय १४ रन बनाएको थियो। जवाफमा भारतले १२ ओभरमा तीन विकेटमात्रै गुमाएर १ सय १५ रनको लक्ष्य पुरा गरेको थियो ।