नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै

पहिलो खेलमा विराटनगर किंस र जनकपुर बोल्टस भिड्दै, दोस्रो खेलमा कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स आमनेसामने हुने
मंसिर ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको आठौँ दिन आज सोमबार दुई खेल हुने भएको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान पौने १२ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

एनपिएलको पहिलो खेलमा आज विराटनगर किंस र जनकपुर बोल्टस बीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता जनकपुर आठ दिनको आरामपछि आफ्नो दोस्रो खेल खेल्दैछ ।

अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा छ । गत मंसिर १ गते भएको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो । सो खेलमा पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतीमा १ सय ३० रनको योगफल बनाएको थियो । आसिफ शेखले ५४ र मयन यादवले ३४ रन बनाउनु बाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेको थिएन् । 

गोर्खाजले १२ बल बाँकी हुँदा ५ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । शिवनराण चन्द्रपलको प्रशिक्षणमा रहेको जनकपुरलाइ उपाधि रक्षाको बाटोतर्फ उन्मुख हुने हो भने आज जित आवश्यक छ । त्यसका लागि ब्याटिङमा माथिल्लो क्रमका लाहिरु मिलान्था, अनिल, साह निकल लफ्टी इटनले रन बनाउनु आवश्यक छ । बलिङमा ललित राजबंशी , किशोर महतोले पावर प्लेमा विकेट लिनु पर्नेछ । यता विराटनगर भने अपराजित छ । संदिप लामिछाने कप्तान रहेको विराटनगरले यसअघिका खेलमा पोखरा एभेन्जर्सलाइ ५३ र गोर्खाजलाई ५ विकेटले हराएको हो । 

विराटनगरले पोखरा विरुद्ध एनपिएलको कीर्तिमानी योगफल २ सय २० रन बनाएको थियो । दुवै खेलमा शीर्ष ब्याटर लोकेश बम, मार्टिन गप्टिल, जर्ज मन्जीले रन जोडेका छन् । शुभम रन्जाने , बासिर अहमदले पनि टिमका लागि योगदान गरिरहेका छन् । गोर्खाज संगको खेलमा विराटनगरले पावर प्लेमा शानदार बलिङ गरेको थियो । प्रतिस जीसी, संदिप, मर्चेन्ट डि लाङगे, रन्जाने सुर्य तामाङ लगायतले बलिङको जिम्मेवारी सम्हाल्नेछ । गत सिजन जनकपुरले विराटनगर माथि ८ विकेटको जित हात पारेको थियो । खेल टियु क्रिकेट स्टेडियममा पौने १२ बजे सुरु हुनेछ ।

यसैगरि एनपिएल अन्तर्गत आज नै कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स बीच पनि प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

अपराजित साविक उपविजेता सुदुरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । उसको दुई खेलबाट चार अंक छ । कर्णाली ले दुई खेलबाट दुई अंक जोडेको छ । कर्णाली ले आफ्नो पहिलो खेलमा चितवन राइनोज संग ४ विकेटको हार बेहोरेको थियो । तर उसले लुम्बिनी लायन्स माथि ९ विकेटको जित हात पार्दै उत्कृष्ट पुनरागमन गरेको छ । यो खेलमा मार्क वाटले शतक प्रहार गरेका थिए । उनी यो सिजन शतक बनाउने पहिलो खेलाडी हुन् । उच्च रन बनाउने खेलाडीको सुचीको पहिलो स्थानमा रहेका वाटले १ सय ३० रन जोडेका छन् । कप्तान सोमपाल कामीले दुई विकेट लिएका छन् । 

कर्णालीको टिम सन्तुलित छ । ब्याटिङमा प्रियंक पन्चाल, वाट, विलियम बसिस्टो, गुल्सन झा, पवन सरार्फ छन् । बलिङलाई सोमपाल, युवराज खत्री, विपिन शर्मा , नन्दन यावदले बलियो बनाएका छन् । सुदुरपश्चिमलाइ समर्थकको ठुलो साथ रहनेछ । आफनो पहिलो खेलमा उसले काठमान्डु गोर्खाज संग १ सय ४७ रन रक्षा गरेको थियो । पोखरालाई १८ रनले पराजित गर्दा जस ब्राउन र विनोद भन्डारीले १ सय ८ रनको ओपनिङ साझेदारी गरेका थिए । क्रिस लिन , हर्मित सिहंको आक्रमक ब्याटिङलाई रोक्न कर्णालीका बलरले राम्रो होमवर्क गर्नु पर्नेछ । 

कप्तान दिपेन्द्र सिंह ऐरी जुनसुकै समय खेल आफ्नो पक्षमा पार्ने क्षमता राख्छन् । स्कट कुगेलाइन महत्वपुर्ण समयमा विकेट लिने बलरका रुपमा परिचित छन् । आसिफ सेख , इसान पान्डेले मध्यक्रम सम्हाल्नेछन् । हेमन्त धामी, नरेन साउदको उपस्थितिले सुदुरलाई थप उर्जा दिनेछन । सुदुरका लागि हर्मित सिंहले सर्वाधिक ४ विकेट लिएका छन् । टिमका लागि ब्राउनले ६८ र हर्मितले ५७ रन बनाएका छन् । दिपेन्द्रले दुई खेलमा ५४ रन जोडेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.