
काठमाडौं । एनपीएलअन्तर्गत साेमबार नै कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच पनि प्रतिस्पर्धा हुनेछ ।
यो खेल दिउँसो ४ बजे सुरू हुनेछ । अपराजित साविक उपविजेता सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । उसको दुई खेलबाट चार अंक छ । कर्णालीले दुई खेलबाट दुई अंक जोडेको छ । कर्णालीले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटको हार बेहोरेको थियो । तर उसले लुम्बिनी लायन्समाथि ९ विकेटको जित हात पार्दै उत्कृष्ट पुनरागमन गरेको छ ।
उक्त खेलमा मार्क वाटले शतक प्रहार गरेका थिए । उनी यो सिजन शतक बनाउने पहिलो खेलाडी हुन् । उच्च रन बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा रहेका वाटले १ सय ३० रन जोडेका छन् । कप्तान सोमपाल कामीले दुई विकेट लिएका छन् । कर्णालीको टिम सन्तुलित छ ।
ब्याटिङमा प्रियंक पन्चाल, वाट, विलियम बसिस्टो, गुल्सन झा, पवन सर्राफ छन् । बलिङलाई सोमपाल, युवराज खत्री, विपिन शर्मा, नन्दन यावदले बलियो बनाएका छन् । सुदुरपश्चिमलाई समर्थकको ठूलो साथ रहनेछ । आफ्नो पहिलो खेलमा उसले काठमान्डु गोर्खाजसँग १ सय ४७ रन रक्षा गरेको थियो ।
पोखरालाई १८ रनले पराजित गर्दा जस ब्राउन र विनोद भण्डारीले १ सय ८ रनको ओपनिङ साझेदारी गरेका थिए । क्रिस लिन, हर्मित सिंहको आक्रामक ब्याटिङलाई रोक्न कर्णालीका बलरले राम्रो होमवर्क गर्नु पर्नेछ । कप्तान दीपेन्द्रसिंह ऐरी जुनसुकै समय खेल आफ्नो पक्षमा पार्ने क्षमता राख्छन् ।
स्कट कुगेलाइन महत्वपूर्ण समयमा विकेट लिने बलरका रूपमा परिचित छन् । आसिफ सेख , इसान पान्डेले मध्यक्रम सम्हाल्नेछन् । हेमन्त धामी, नरेन साउदको उपस्थितिले सुदूरलाई थप उर्जा दिनेछन् । सुदूरका लागि हर्मित सिंहले सर्वाधिक ४ विकेट लिएका छन् । टिमका लागि ब्राउनले ६८ र हर्मितले ५७ रन बनाएका छन् । दीपेन्द्रले दुई खेलमा ५४ रन जोडेका छन् ।