एनपीएलमा लगातार तेस्रो जितसहित विराटनगर किंग्स उपाधि दावेदारी प्रस्तुत गर्दै

साविक विजेता जनकपुर बोल्ट्समाथि नौ रनको रोमाञ्चक जित, सूर्य तामाङ र सन्दीप लामिछानेको उत्कृष्ट बलिङ
मंसिर ८, २०८२ |खेल ब्युरो
एनपीएलमा लगातार तेस्रो जितसहित विराटनगर किंग्स उपाधि दावेदारी प्रस्तुत गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलमा विराटनगर किंग्सले लगातार तेस्रो जित हात पारेर लिगको शीर्षस्थानमा पकड बलियो बनाउँदै लगेको छ। 

साेमबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्समाथि ९ रनको थ्रिलर जित हात पारेपछि विराटनगरले आफ्नो जितको लय कायम राखेको हो। विराटनगरको जितमा सन्दिप लामिछाने र सूर्य तामाङले उत्कृष्ट बलिङ गरेका छन् । टीयू क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

टस जितेर पहिले फिल्डिङ रोजेको जनकपुरका लागि संगीथ कोरे र युवा बलर आदित्य महताले सानदार सुरूआत दिलाएका थिए। स्कटिस ब्याटर जर्ज मुन्सेलाई संगीथले १० रनमा बोल्ड गरे। महताले १३ रन बनाएको अवस्थामा मार्टिन गप्टिललाई पवेलियन पठाए । २६ बल खेलेर २८ रन बनाएका लोकेश बमलाई संगीथले कृष्णमुर्तिको हातबाट क्याचआउट गराएका थिए। 

तीन विकेट क्षतिमा विराटनगरले ५५ रन बनाएको थियो । त्यसपछि बसिर अहमदले सुभम रन्जानेसँग अत्यावश्यक ५२ रनको इनिङ्स खेलेर कमब्याकको प्रयास गरेका थिए । तर ३६ रन बनाएका बसिरलाई रूपेश सिंहले आउट गराएका हुन् । फिल्डिङमा पनि अब्बल प्रदर्शन गरेको जनकपुरको लागि रूपेशले एक रनआउट पनि गराए । जतिबेला रञ्जाने ३७ रन बनाएर आउट भएका थिए । दक्षिण फ्रिकन स्टार र्चेन्ट डि ल्याङ्गे डाइमन्ड डक भएपछि विराटनगर सस्तैमा समेटिएको हो ।

जवाफमा विराटनगरका सन्दिप लामिछाने र सूर्य तामाङले धारिलो बलिङ गरेपछि सानदार कमब्याक गरेर जनकपुरलाई १ सय २६ रनमा रोक्न सक्यो । आशिफ शेख र लाहिरू मिलान्थाले धैर्यता देखाउँदै खेल सुरू गरे पनि सूर्य तामाङले १९ रन बनाएको अवस्थामा ओपनिङ साझेदारी तोडेका थिए । 

व्यक्तिगत १३ रन बनाउँदै आशिफ शेख दुई ओभर चार बलमा आउट भए । अनिल शाह चार रन र लाहिरू मिलान्था २३ रनमा आउट भएका थिए। अनुभवी खेलाडी सञ्जय कृष्णमुर्तिले २० रन बनाए पनि उनले जान निकोलो लोफ्टी इटनसँग लामो इनिङ खेल्न सकेनन् । पछिल्लो १० ओभरमा जनकपुरले विकेट थामेर खेल्न सकेन। लोफ्टी इटनलाई अर्को एजमा साथ दिने खेलाडी नहुँदा जनकपुर पराजित हुन पुग्यो। अन्तिम ओभरमा लोफ्टी इटन व्यक्तिगत ४१ रन बनाएर आउट भएका थिए ।

लगातार तीन खेल जितेको विराटनगर लिगको शीर्षस्थानमा कायमै छ। उपाधि रक्षाको अभियानमा रहेको जनकपुरले भने आफ्नो सुरुका दुई खेलमै हार ब्यहोरेको छ। उसले पहिलो खेलमा काठमान्डु गोर्खाजसँग पाँच विकेटको हार ब्यहोरेको थियो। विराटनगरले यसअघिका खेलमा पोखरा एभेन्जर्सलाई ५३ रन र गोर्खाजलाई ५ विकेटले हराएको हो ।