
काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
केही समयअघि मात्रै निधनको अफवाह फैलिएको खबर आफैंले पढेका धर्मेन्द्रको साेमबार निधन भएको द हिन्दूस्तान टाइम्सले जनाएको छ । धर्मेन्द्रको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । दुई साताअघि मात्रै धर्मेन्द्रलाई अस्पतालबाट घर फिर्ता ल्याइएको थियो ।
बलिउड चलचित्रकर्मीसहित धेरैले धर्मेन्द्रलाई सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिएका छन् । सन् १९६० देखि अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले तीन सयभन्दा धेरै चलचित्रमा अभिनय गर्नुभएको छ । 'शोले' मा बहुचर्चित वीरूको भूमिकासहित 'फूल और पत्थर', 'सीता और गीता', 'चुपके चुपके', 'प्रतिज्ञा' र 'धर्म वीर' जस्ता उहाँका चलचित्र सदाबहार मानिन्छन् । रोमान्टिकदेखि एक्सन हिरोसम्मको भूमिकामा उहाँले आफ्नो बलियो छाप छाड्नुभएको छ ।
सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभ्मेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान पाएका धर्मेन्द्र पछिल्लो पटक 'तेरी बातों में ऐसा उलझा जिया' र 'रकी और रानी की प्रेम कहानी' मा देखिनुभएको थियो । उहाँको अन्तिम चलचित्र 'इक्किस' प्रदर्शन हुन बाँकी छ । यो फिल्मको पोस्टर आइतबार मात्र सार्वजनिक गरिएको थियो ।
धर्मेन्द्रका श्रीमतीहरू प्रकाश कौर र हेमा मालिनीसहित छोराहरू सनी र बबी देओल तथा छोरीहरू ईशा र आहाना देओल छन् ।