सडक विस्तारसँगै विस्थापित हुँदै खच्चड व्यवसाय, जाजरकोटमा संरक्षण अभियान सुरू

मंसिर ८, २०८२ |सरोज वली
सडक विस्तारसँगै विस्थापित हुँदै खच्चड व्यवसाय, जाजरकोटमा संरक्षण अभियान सुरू

जाजरकोट । कुनै समय दुर्गम क्षेत्रको सबैभन्दा भरपर्दो ढुवानीको साधन थियो घोडा-खच्चड । 

जाजरकोटमा खाद्यान्नसँगै निमार्णका सामग्रीहरू पनि घोडा-खच्चडबाटै ओसारिन्थ्यो । तर सडक सञ्जालको विस्तारसँगै खच्चड व्यवसायीहरू लगभग विस्थापित भएका छन् । सल्यानको सल्लीबजार, पश्चिम रूकुमको चौरजहारीदेखि डोल्पाको दुनैसम्म दैनिक उपभोग्य सामग्री, पोल्ट्री, नुन-चिनी, लत्ताकपडा र निमार्णका सामग्री सबै घोडा खच्चडकै पिठ्यूँमा लादिएर पुग्थे । 

पछिल्लो समयमा पूर्वाधार विकास तीव्र हुँदै गाउँ-गाउँमा मोटर गुड्ने सडक पुगेसँगै घोडा खच्चडमा आधारित ढुवानी सेवा लगभग विस्थापित हुने चरणमा पुगेको छ । यसले वर्षौ देखि घोडा खच्चडमा निर्भर व्यवसायीहरूलाई विकल्प खोज्नैपर्ने ठाउँमा ल्याइपुर्‍याएको छ । ढुवानीको काममा नआएपछि घोडा खच्चडको हेरचाहमा समेत बेवास्ता हुन थालेको छ । पर्याप्त चरनसमेत छैन ।

जाजरकोटमा दि डन्की सेन्चुरीको सहयोगमा नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले घोडा खच्चरको नि:शुल्क स्वास्थ्य परीक्षणसहित उपचार गर्ने र संरक्षण गर्ने परियोजना सञ्चालन गरेको छ । अहिले पनि जाजरकोटका केही ठाउँमा खाद्यान्न, विकास निमार्णका सामाग्री घोडा खच्चरलेनै पुर्‍याउनुको विकल्प छैन । स्वास्थ्य परीक्षण, उपचार, आवश्यक खोप, व्यवसायीलाई तालिम र पोषण व्यवस्थापनबारे जानकारी दिँदै आएको छ ।

प्रविधिको प्रगतिले आधुनिक जीवन सहज बन्दैछ । तर अझै पनि केही ठाउँमा अपरिहार्य रहेको परम्परागत खच्चड व्यवसाय व्यवसायलाई जगेर्ना पुग्ने गरी भएको यो पहलले व्यवसायी आशावादी देखिएका छन् ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।