सावित्रा बिना त्रिकोणात्मक सिरिज खेल्दै नेपाल : युवा खेलाडीलाई अवसर

मंसिर ६, २०८२ |खेल ब्युरो
सावित्रा बिना त्रिकोणात्मक सिरिज खेल्दै नेपाल : युवा खेलाडीलाई अवसर

काठमाडौं । स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बिना नै नेपालले इन्डाेनेसियामा हुने त्रिदेशीय महिला फुटबल प्रतियोगितामा खेल्ने तयारी गरेको छ ।

आगामी नोभेम्बर २६ देखि इन्डाेनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ । स्टार स्ट्राइकर सावित्राबिना नै नेपाली टोलीले आफूभन्दा बलियो चाइनिज ताइपेईसँगै इन्डाेनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ । 

नेपाली टोलीले तयारी अन्तिम चरणमा पुर्‍याएको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेको प्रशिक्षणमा नेपाली टोलीले पछिल्लो दुई हप्तादेखि तयारी गरिरहेको छ । प्रशिक्षक न्यौपाने युवा खेलाडी मीना देउवा र पूर्णिमा राई जस्ता युवा खेलाडीलाई अवसर दिएका छन् । 

सावित्राको अनुपस्थितिमा युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने अवसर पनि हुनेछ । २७ सदस्यीय प्रारम्भिक टोलीबाट प्रशिक्षक न्यौपानेले २३ सदस्य टोली छनोट गरेका छन् । त्यसमा सावित्राको पनि नाम समावेश छ । तर उनको स्थानमा अन्य खेलाडीले अवसर पाउन सक्नेछन् ।

नेपाल महिला राष्ट्रिय फुटबल टोली आगामी ट्राइ नेशन कप खेल्न आइतबार इन्डाेनेसिया जाँदैछ । मुख्य प्रशिक्षक नविन न्यौपाने र खेलाडी रेनुका नगरकोटीले तयारी सन्तोषजनक रहेको र राम्रो नतिजाको अपेक्षा गरेको बताउनुभएको छ । प्रशिक्षक न्यौपानेकाअनुसार टोलीले यसअघि श्रीलंकामा भएको ट्राई नेशन कप खेलेको थियो भने यसपटक इन्डाेनेसियामा इन्डाेनेसिया र चाइनिज ताइपेसँग प्रतिष्पर्धा गर्नेछ । 

तयारी स्वरूप तीन अभ्यास खेल खेलिएको थियो । जसमा इरानसँग पराजित भए पनि भारतलाई हराउन सफल भएको थियो । त्यसलगत्तै झापा गोल्डकपमा २२ जना खेलाडीलाई अवसर दिइएको र सबैको प्रदर्शन सन्तोषजनक रहेकाले सोही टोलीलाई निरन्तरता दिइएको न्यौपानेले बताउनु भयो ।

यद्यपि, स्टार खेलाडी सावित्रा भण्डारी घाइते भएकाले खेल्ने सम्भावना छैन । त्यस्तै गोलकिपर गीता राणा पनि घाइते रहेकाले नयाँ खेलाडीले अवसर पाउने प्रशिक्षक न्यौपानेले जानकारी दिनुभयो । खेलाडी रेनुका नगरकोटीले पनि तयारी समय पर्याप्त नभएको बताउँदै भारत भ्रमण र झापा गोल्डकपको लगत्तै इन्डाेनेसिया जानुपरेको उहाँले उल्लेख गर्नुभयो ।

नेपालले इन्डाेनेसिया र चाइनिज ताइपेईसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । यो सिरिज नेपाली महिला फुटबलका लागि महत्वपूर्ण तयारी मानिएको छ ।