
काठमाडौं । सिनियर विश्व कराते च्याम्पियनसिपको २७औं संस्करणमा सहभागी हुन नेपालको कराते टोली आइतबार इजिप्टको कायरो जाने भएको छ ।
नोभेम्बर २७ देखि ३० सम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरूङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् ।
तारा गुरूङ र खेलाडी सन्तोष श्रेष्ठ पनि टोलीसँगै इजिप्ट जाने छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे ।