
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको आरोप लगाउनुभएको छ ।
शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित जनप्रर्दशन तथा जनसभा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्ष ओलीले वर्तमान सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको जिकिर समेत गर्नुभयो । उहाँले सरकारले जेन-जीको नाममा केहीलाई बोलाएर सामाजिक अराजकता निम्त्याउने काम गरिरहेको समेत बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘काम गर्न नसक्ने भ्रष्टाचारमा लसक्क डुबेको यो सरकार नक्कली सरकार, यो सरकारले जेन-जीका नाममा केही मानिसहरूलाई बोलाएर आफैँले तयार गरेका मागहरू प्रस्तुत गर्न लगाएर, आफैँले आफ्नो विरोध गर्ने आफूलाई दबाब दिने वातावरणका लागि तालिम लिएर मान्छे बोलाएर सुशासनका नाममा घृणा र द्वेष फैलाउने काम गरिरहेको छ ।’
अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको पनि बताउनु भयो ।