
नेपालगञ्ज । ११औँ नेपालगञ्ज म्याराथनको उपाधि नेपाल आर्मीका धावक खडकबहादुर खड्काले जितेका छन् ।
उपाधि रक्षा गर्नेक्रममा निर्धारित ४२ किलोमिटर दूरी उनले २ घन्टा १५ मिनेट ८ सेकेन्डमा पूरा गरे । आर्मीकै सुशीलकुमार शाही २ घन्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरेर दोस्रो भए । तेस्रो बनेका गोपीचन्द्र पार्कीले निर्धारित दूरी २ घन्टा १९ मिनेट १९ सेकेन्डमा पूरा गरे । दोस्रो बनेका सुशीलले १ लाख र तेस्रो स्थानका पार्कीले ५० हजार नगद पुरस्कार प्राप्त गरे ।
पुरूषतर्फका विजेता खडकले दुई लाख नगद पुरस्कार समेत हात पारेका छन् । त्यस्तै महिला हाफ म्याराथनमा २१ किलोमिटर दुरी १ घन्टा २१ मिनेट २७ सेकेन्डमा पूरा गरेर आर्मीकै पूर्णराज्यलक्ष्मी न्यौपाने पहिलो बनिन् । एपीएफकी फूलमती राना एक घन्टा २७ मिनेट २२ सकेन्डमा दूरी पूरा गरेर दोस्रो बनिन् ।
त्यस्तै कर्णाली प्रदेशकी सन्दीवा बुढाले १ घन्टा २७ मिनेट ३९ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो स्थान हासिल गरिन् । विजेता पूर्णलक्ष्मीले ७५ हजार नगद पुस्कार प्राप्त गरिन् ।