फागुनमा कसरी हुन्छ राष्ट्रिय खेलकूद ?

मंसिर ४, २०८२ |कमल पन्त
फागुनमा कसरी हुन्छ राष्ट्रिय खेलकूद ?

सुर्खेत । चरम राजनीतिक स्वार्थ र द्वन्द्वका कारण तीन पटकसम्म मिति तोकिएर पनि स्थगित हुँदै आएको १०औं राष्ट्रिय खेलकूद आगामी फागुन १ देखि ७ गते सम्म गर्ने निर्णय सरकारले गरेको छ । तर, यस पटक पनि तोकिएको समयमा आयोजना हुन्छ त ? भन्ने आशंका कायमै छ। एकातिर देश नै चुनावमा केन्द्रित भएको अवस्था हुनेछ भने अर्कोतिर खेलकुद परिषद्कै केही पदाधिकारीले व्यवस्थापकीय समस्या देखाएर प्रतियोगिता गर्न नसकिने बताइरहेका छन् । यस्तो अवस्थामा कसरी हुन्छ त राष्ट्रिय खेलकुद ?

खेलकूद परिषद्को १ सय २३ औं बोर्ड बैठकमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जसरी भए पनि १० औं राष्ट्रिय खेलकुद गर्नुपर्नेमा जोड दि्ँदा बोर्डका केही सदस्य भने व्यवस्थापनका पक्षहरुलाई देखाएर प्रतियोगिता गर्न नसकिने जिकिर गरिरहेका थिए । यसअघि पूर्वाधार निर्माण सम्पन्न नभएको, खेलस्थलमा होटेल पर्याप्त नभएको, पानी र विद्युतको प्रबन्ध नभएको लागायतका समस्या देखाएर राष्ट्रिय खेलकुद आयोजना भएनन्। तर अहिले भने चुनावको १४ दिनअघि समापन गर्ने गरी नयाा मिति घोषणा गरिएको छ । देश नै चुनावमा केन्दि्रत हुनु पर्ने समयमा तय भएको राष्ट्रिय खेलकुदलाई निर्वाचन आयोगले कसरी लिएको छ त ?

खेलकूदमन्त्री बब्लु गुप्ता यो वा त्यो बहानामा राष्ट्रिय खेलकुद रोक्न नहुने पक्षमा छन् । उनलाई खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले पनि साथ दिएका छन्। मन्त्री गुप्ताले पछिल्लो बोर्ड बैठकमा पनि निर्वाचन आयोगसँग आफूले कुरा गर्दा खेलकुद आयोजनामा असर नपर्ने सुझाव पाएको जानकारी दिए ।

कर्णालीका तत्कालीन मुख्यमन्त्रीहरु जीवनबहादुर शाही र राजकुमार शर्माले तयारीलाई निकै तिब्रता दिएका थिए । अर्बभन्दा बढी लगानीमा सुर्खेतमा रंगशाला निर्माण गरिएको थियो । तर, पछिल्लो पटक यामलाल काडेल मुख्यमन्त्री बनेर आएपछि प्रदेश सरकारले राष्ट्रिय खेलकुदका लागि संघीय सरकारका कामलाई असहयोग गर्दै आइरहेको छ । कँडेलले गत वर्ष प्रतियोगिताको सय दिने काउन्टडाउन कार्यक्रमको समेत विरोध गरेका थिए । आफ्नै प्रदेशमा आयोजना हुन लागेको खेलकुद प्रतियोगितालाई उनले अन्योलग्रस्त अवस्थामा छाडिदिएका छन् । जसको उदाहण हो एक वर्षअघि प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव रिक्त हुादा पनि नियुक्तिमा गरिएको बेवास्ता । १० औं राष्ट्रिय खेलकुदबारे हामीले धारणा माग गर्दासमेत प्रदेश सरकारले खेलकुद आयोजना आफ्नो जिम्मेवारी नभएको भन्दै पन्छिएको छ।

फागुन पहिलो साता राष्ट्रिय खेलकुद आयोजना गर्ने नै हो भने द्रूत गतिमा तयारी सुरु गर्ने समय भइसकेको छ । युवा तथा खेलकुद मन्त्रालयले पनि राष्ट्रिय खेलकुदका लागि विनियोजन भएको बजेट ब्रेकडाउन गरी अर्थ मन्त्रालयमा पठाइसकेको छ । बाँकी काम पनि सातै प्रदेश र परिषद् मिलेर चााडै सम्पन्न गर्ने राखेप बताउँछ ।

नेपाली खेलकुदको अहिलेको आवश्यकता १० औं राष्ट्रिय खेलकुद आयोजना हो । यसले वर्तमान अवस्थामा खेलकुदको डेडलक अन्त्य गर्नेछ भने आगामी एसियाली खेलकुदका लागि बलियो तयारीको मौका मिल्नेछ । तर, चुनावअघि खेलको मर्मबाहेकका गतिविधिमा खेलकुद र खेलाडी प्रयोग हुन सक्ने अवस्थाप्रति भने सबै चनाखो हुन आवश्यक छ । यसका लागि खेल स्थल, खेलाडी र सबै खेलकर्मीको सुरक्षा पहिलो सर्त हो ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।