
काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग-एनपिएलको आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर तीन बलमा चार विकेट गुमाएर एक सय ४६ रन बनाउँदै जित हासिल गरेको हो। लुम्बिनीको जितमा गुल्बदिन नैबले अलरान्ड प्रदर्शन गरेका छन्।
टीयू क्रिकेट स्टेडियममा टस जितेको लुम्बिनीले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि चितवनले पहिलो ब्याटिङ गर्दै २० ओभरमा सात विकेट गुमाएर एक सय ४२ रन बनायो। राइनोजका ओपनर डेबिड मलान पहिलो बलमा बोल्ड भए। डेब्यु खेलमा उनलाई रुबिन ट्रम्पलम्यानले पहिलो ओभरको दोस्रो बलमा आउट गरे। दिपक बोहरालाई १० रन बनाएको अवस्थामा समिर अलीले स्टम्पिङ गराएका थिए। प्रशिक्षक टिनु योहान्नानले सिनियर खेलाडीलाई बेञ्चमा राख्दै ट्यालेन्ट हन्टबाट टिममा अनुबन्ध भएका समिरलाई अवसर दिएका थिए ।
देव खनाल १४ रनमा आउट भएपछि चितवन तीन विकेट गुमाएर ४३ रनमात्रै बनाएको संकटको अवस्थामा थियो। तर कुशल मल्लले २१, सेफ जैबले १५ रन बनाउँदै रबी बोपारालाई साथ दिएका थिए। बोपाराले ५५ बलमा ६६ रन जोडेर चितवनलाई सम्मानजनक अवस्थामा पुर्याएका हुन्। लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका बोपारालाई अफगानी बलर गुल्बदीन नैबले क्याचआउट गराए। लायन्सका ट्रम्पलम्यानले तीन विकेट लिए भने अभिषेश गौतम र नैबको नाममा दुई दुई विकेट रहृयो।
दोस्रो इनिङमा लुम्बिनीका ओपनर डिआरकी सर्ट ११ रनमा आउट भए। सन्दिप जोरा २८ रनमा आउट हुँदा लुम्बिनीले ५२ रनमा दोस्रो क्षति ब्यहोरेको थियो। दुवै विकेट रिजन ढकालले लिएका हुन्। दिलिप नाथ १० रन बनाएर रनआउट भए। कप्तान रोहित पौडेललाई ३९ रन बनाएको अवस्थामा सोहेल तन्विरले क्याचआउट गराएका थिए। तर त्यतिबेला चितवनले विकेट लिन ढिला गरिसकेको थियो। रोहितले गुल्बदिनसँग मिलेर ६० रनको साझेदारी गरिसकेका थिए। नैबले २४ बलमा अविजित ४४ रन बनाएर सानदार फिनिसिङ गरे। चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएर लिगमा विजयी सुरुआत गरेको थियो।