
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल २०२५ को पाँचौं खेलमा आज लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध प्रतिस्पर्धा गर्दै छ । टीयू क्रिकेट मैदान, कीर्तिपुरमा खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
लुम्बिनीका लागि यो सिजनको पहिलो खेल हुने छ भने चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै शानदार सुरुवात गरिसकेको छ । लुम्बिनी यसपटक गत वर्षको निराशाजनक प्रदर्शनलाई बिर्सन चाहन्छ । एनपीएल २०२४ मा लुम्बिनीले सात खेलमध्ये केवल एक खेल जितेर अंक तालिकाका पुछारमा रहँदै प्रतियोगिता समाप्त गरेको थियो । लुम्बिनीले त्यो एक मात्र जित पनि यही प्रतिद्वन्द्वी चितवन राइनोजविरुद्ध हात पारेको थियो । १ सय ६८ रनको लक्ष्य पट्याएको चितवनले ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाइपछि लुम्बिनी ३३ रनले विजयी भएको थियो ।
चितवन राइनोजले यस सिजन उत्कृष्ट सुरुवात गर्दै कर्णाली याक्सलाई चार विकेटले हराइसकेको छ । सुदूरपश्चिमबाट चितवन आएका सैफअली जैबले एक विकेट र १६ बलमा ३८ रनसहित दमदार प्रदर्शन गरेका थिए भने रवि बोपराल अर्धशतक प्रहार गरेपछि चितवनले १ सय ६७ रनको लक्ष्य पाँच बल बाँकी छँदै पूरा गरेको थियो ।
लुम्बिनीका कप्तान रोहित पौडेल फेरि पनि टोलीका सबैभन्दा महत्वपूर्ण खेलाडी हुनेछन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पनि नेपालका कप्तान रहेका पौडेलले गत वर्ष एनपीएलमा २ सय ७९ रन र आठ विकेट हात पारेका थिए । उनी नै लुम्बिनीका तर्फबाट २ सय रन नाघ्ने एकमात्र खेलाडी बनेका थिए । यस खेलमा पनि टोलीले उनीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ ।