शहीद स्मारक 'ए' डिभिजन लिगका क्लबहरूले एन्फा जाउँ अभियान सुरू गर्ने

मंसिर ३, २०८२ |खेल ब्युरो
शहीद स्मारक 'ए' डिभिजन लिगका क्लबहरूले एन्फा जाउँ अभियान सुरू गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फामा स्थायित्व र व्यवस्थित लिग सञ्चालनको माग गर्दै शहीद स्मारक 'ए' डिभिजन लिगका क्लबहरूले एन्फा जाउँ अभियान सुरू गर्ने भएका छन् । 

क्लबहरूले बिहीबार एन्फा परिसरमा यो अभियान आयोजना गर्ने जानकारी दिएका छन् । शहीद स्मारक 'ए' डिभिजन लिग आयोजनाको माग गर्दै यसअघि नै फुटबल खेलाडीले धर्ना र आन्दोलन गरेका छन् । त्यसपछि क्लबले पनि धर्नाको घोषणा गरेका हुन् ।

क्लबहरूले एन्फासँग तीन वटा माग अघि सारेका छन् । लिगका सबै प्रतियोगिताहरू समयमै सम्पन्न गर्नुपर्ने, 'ए' डिभिजन क्लबहरूसँग भएको प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग प्रतियोगिता सञ्चालन गर्न सुनिश्चितता दिलाउने माग समावेश छन्।

आयोजक क्लबका अनुसार लगातार लिग सञ्चालनमा एन्फाको कमजोरीका कारण नेपाली फुटबल पछाडी परेको छ। फुटबलमा डेडलकको अवस्थाको अन्त्य गर्न अब क्लब स्वयम् मैदानमा उत्रिन बाध्य भएको क्लबका पदाधिकारीले बताउँदै आएका छन्। नेतृत्वकर्ता क्बबहरूले एन्फालाई अबको दिनमा पारदर्शीता, दिगोपन र समयपालनालाई प्राथमिकता दिन अपील गर्ने तयारी गरेका छन् ।