
काठमाडौँ - जेन–जी अभियन्ता मिराज ढुंगानाले बुधबार साँझ आफ्नो कार्यालयमा आक्रमण भएको बताउनुभएको छ ।
कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै ढुंगानाले हिजो साँझ ६ बजेतिर अज्ञात समूहले आफूहरुको कार्यालयमा आक्रमण गर्नुका साथै त्यहाँ रहेका महिला सदस्यहरुमाथि दुर्व्यवहारसमेत गरेको बताउनुभयो । घटनाबारे विस्तृत विवरण र आक्रमणकारीहरूको पहिचान खुल्न बाँकी रहेकाले कार्यालय पक्षले सुरक्षा निकायसँग आवश्यक कारबाहीको माग गरेको जनाएको छ।
ढुंगानाले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबूकमा पनि एक पोस्ट लेख्दै साँझ ६ बजेतिर आफूहरुको कार्यालयमा आक्रमण भएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो । हाम्रा महिला साथीसँग दुर्व्यवहार र हातपात समेत भयो। आखिर हामीलाई के गर्न खोजिएको हो?।’
तर मिराजका तर्फबाट कार्यालयमा आक्रमण भएको भनी प्रहरीकहाँ अहिलेसम्म मौखिक वा लिखित कुनै प्रकारको निवेदन नपरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताउनुभएको छ