
लक्ष्मी गौतम । जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते झापाको दमकस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार र केही थान गोली पाँचथरको मिक्लाजुङ गाउँपालिकामा रहेको एउटा ओढारमा फेला परेको छ ।
दमकबाट लुटिएका दुई थान बन्दुक र गोली झापा र पाँचथरबाट खटेको प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिषकुमार कर्णले जानकारी दिनुभयो । ती सामग्री मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेस्थित जङ्गलको ओडारमा लुकाए राखेको अवस्थामा भेटिएका हुन् ।
यसरी फेला परेका हतियारमा म्यागेजिन सहितको ३०३ मार्क–३ राइफल, जलेको अवस्थामा रहेको एक थान इन्सासको बट र ह्यान्ड–ग्रिप, इन्सासको एक थान जंगी राउण्ड र एसएलआरका तीन थान जंगी राउण्ड रहेको प्रहरीले जनाएको छ ।
जेन्जी आन्दोलनका क्रममा दमकस्थित प्रहरी कार्यालय आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचथर मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाकको बयानका आधारमा खोजी गर्दा प्रहरीले बन्दुक फेला पारेको हो ।
बरामद हतियार फोरन्सिक र कानुनी प्रक्रिया पूरा गरेर सुरक्षितरूपमा राखिएको छ । पक्राउ परेका फियाकविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।