
काठमाडौं । नेपालका फुटबल क्लबहरुले आज अखिल नेपाल फुटबल संघ एन्फाविरुद्ध प्रदर्शन गरेका छन् ।
ए, बी र सी डिभिजनका क्लबले ३ बुँदे मागसहित आज सादावाटोस्थित एन्फा मुख्यालयमा धर्ना दिएका हुन् । प्रदर्शनपछि ए डिभिजन लिगका विषयमा एन्फा र क्लबबीच छलफल भइरहेको छ ।
लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसंगको सम्झौता कार्यान्वयन गर्न र अन्तराष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता संचालन क्लबहरुले माग गरेका छन् । एन्फा र क्लबबीच कात्तिक १७ गते पुसमा राष्ट्रिय लिग गर्ने र ए डिभिजन लिग अर्को वर्ष मात्र गर्ने सहमति भएपछि खेलाडी संघले एन्फाविरुद्ध प्रदर्शन गरेको थियो । त्यसपछि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले फुटबलका सरोकारवालासँग सामूहिक र अलग अलग छलफल गरेपछि एन्फाले क्लबहरु तयार भए १ सय २० दिनमा ए डिभिजन लिग सुरु गर्ने सक्ने बताएको थियो । तर क्लहरुले एनफासंगको सहमतीलाई कार्यन्यन गर्नुपर्ने मागसहित विरोध प्रदर्शन गरेपछि यस वर्ष पनि लिग हुनेमा शंका बढेको छ ।
ए डिभिजन क्लबहरुले मन्त्री गुप्तासँग होम ग्राउण्ड र ट्रेनिङ ग्राउन्ड उपलब्ध गराएमात्र लिगमा सहभागी हुन सकिने बताएका थिए । एन्फा र क्लवहरुको बैठक अहिले जारी छ ।