.png&w=1000&height=550)
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएल २०२५ को चौथो खेलमा बुधबार काठमान्डु गोर्खाजले साविक उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा खेल दिउँसो ४ बजे सुरू हुने छ । विजयी अभियानलाई निरन्तरता दिने लक्ष्यसहित गोर्खाज मैदानमा उत्रिने छ । पहिलो खेलमै जनकपुर बोल्ट्सलाई पराजित गर्दै गोर्खाजले सानदार सुरूवात गरिसकेको छ ।
साविक उपविजेता सुदूरपश्चिम यसपटक पनि उत्कृष्ट यात्राको पुनरावृत्ति गर्ने योजनामा हुने छ । सुदूरपश्चिमले गत सिजन गोर्खाजलाई ७३ रनको विशाल अन्तरले पराजित गरेको थियो । १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गोर्खाज ९४ रनमा अलआउट भएको थियो ।
करण केसीको नेतृत्वमा गोर्खाजले यस सिजन उत्कृष्ट सुरूवात गरिसकेको छ । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सविरूद्धको ५ विकेटको सहज जितले टिमको आत्माविश्वास बढेको छ । मोन्टी देसाइका बलरहरूले विपक्षीलाई सानो योगफलमा रोकेका थिए भने ब्याटरहरूले संयमित रूपमा लक्ष्य पछ्याएका थिए । कप्तान केसी बुधबारको खेलमार्फत अभियानलाई अझै बलियो बनाउन चाहन्छन् ।
आकाश त्रिपाठी र बेन चार्ल्स वर्थले पहिलो खेलमा ७० रनको साझेदारी गर्दै टिमलाई सशक्त सुरूवात दिएका थिए । मध्यक्रममा भीम सार्की, मिलिन्द कुमार र जोन सिम्पसनबाट टिमले स्थिरता खोज्ने छ। त्यस्तै जेरार्ड एरस्मस, मोहम्मद आदिल आलम र राशिद खान जस्ता हिटरहरूबाट अन्त्यतिर तीव्र रनको अपेक्षा गोर्खाजले गरेको छ ।
बलिङतर्फ करण केसी र राशिद खानले नयाँ बलबाट राम्रो प्रभाव पारेका छन् । मध्य ओभरमा मिलिन्द कुमार र जेरार्ड एरस्मसले आफ्नो अनुभव देखाउने छन् । शाहाब आलम र सन्तोष यादवको स्पिनले पनि अघिल्लो खेलमा विपक्षीलाई टिक्न दिएको थिएन ।
सुदूरपश्चिमले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म यात्रा गरेको थियो । यही निरन्तरता यस वर्ष पनि कायम राख्ने लक्ष्यसहित टिम मैदान उत्रनेछ । शीर्ष क्रममा विनोद भण्डारी र इसान पाण्डेबाट टिमले आक्रामक सुरूवातको अपेक्षा गरेको छ ।
क्रिस लिनको आगमनले सुदूरपश्चिको मध्यक्रम थप बलियो बनेको छ । जहाँ लिन, जोश ब्राउन र आरिफ शेख महत्त्वपूर्ण भूमिका खेल्ने छन् । तल्लो मध्यक्रममा स्कट कुग्गेलाइन र हरमित सिंह रन थप्ने जिम्मेवारीमा रहने छन् । बलिङतर्फ स्कट कुग्गेलाइन र हरमित सिंहसँगै नरेन साउद र अभिनाश बोहरा सूदुरका मुख्य हतियार हुन् । कप्तान दिपेन्द्रबाट टिमले ब्याटिङ बलिङ र फिल्डिङमा सधै जस्तो उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ ।