
काठमाडौं । नेपालको लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपीएल आगामी सोमबारदेखि सुरू हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा खेल हुने भएपछि विद्यार्थीहरू खुसी त छन् नै त्यसले कतै पढाइमा बाधा पुग्ने त होइन भन्ने चिन्ता पनि छ। ३ हजारभन्दा धेरै विद्यार्थी पढ्ने मुलुकको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयको खेल मैदानमा हुने प्रयोगितालाई शान्तिपूर्ण बनाउन र पठनपाठनमा पनि असर नपुग्ने गरी व्यवस्थापनको तयारी भइरहेको छ ।
नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताका क्रममा प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयको शैक्षिक गतिविधिमा असर नपर्नेगरी मूलगेटबाट सवारीसाधान आवतजावतलाई निषेध गर्ने व्यवस्था मिलाइएको छ । १० हजार दर्शक क्षमता रहेको खेलमैदानमा प्रतियोगिता चलिरहँदा विद्यार्थीको उच्चशिक्षाको अध्ययन अध्यापनमा प्रभाव नपर्नेगरी ट्राफिक व्यवस्थापन, पार्किङ, वातावरणीय प्रदूषण न्यूनीकरण, सरसफाइदेखि सुरक्षा प्रबन्ध गर्न विश्वविद्यालय र नेपाल क्रिकेट संघले व्यवस्थापन गर्ने भएको छ ।
विश्वविद्यालयका पदाधिकारी, विद्यार्थीका प्रतिनिधि र क्यानका पदाधिकारीसहितको संयुक्त बैठकले प्रतियोगितालाई शान्तिपूर्ण र व्यवस्थित बनाउनुका साथै शैक्षिक गतिविधिमा असर नपार्ने सहमति गरेको छ। प्रतियोगिता चलिरहँदा परीक्षा पनि सञ्चालन हुँदैछ । त्यसैले पठनपाठन र परीक्षामा प्रभाव नपर्ने गरी खेल व्यवस्थापन गर्न विद्यार्थीले आग्रह गरेका छन् ।
प्रतियोगिता हेर्नका लागि त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको छ । यससँगै नाफाको १० प्रतिशत विश्वविद्यालयका विद्यार्थीको नाममा छुट्याउनसमेत विद्यार्थीहरूले माग गरेका छन् । त्रिविले टिकट बिक्रीदेखि प्रतियोगिताको क्रममा हुने ध्वनि प्रदूषणलाई पनि ध्यान दिन आग्रह गरेको छ ।
यसैबीच शैक्षिक गतिविधिमा असर नपर्ने प्रतियोगितस्थल र त्रिवि क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउन प्रतिबद्ध रहेको क्यानले जनाएको छ ।