एनपीएलको तयारी पूरा

कार्तिक २९, २०८२ |खेल ब्युरो
एनपीएलको तयारी पूरा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप रू एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रू ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रू २५ लाख तथा चौथो हुनेले रू १५ लाख प्राप्त गर्नेछ । एनपीएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुनेछ ।-रासस