एनपीएलको दोस्रो संस्करणमा ३५ देखि ४० करोड रूपैयाँ उठ्ने क्यानकाे अनुमान

कार्तिक २९, २०८२ |खेल ब्युरो
एनपीएलको दोस्रो संस्करणमा ३५ देखि ४० करोड रूपैयाँ उठ्ने क्यानकाे अनुमान

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करणमा ३५ देखि ४० करोड रूपैयाँ उठ्ने अनुमान गरेको छ ।

एनपीएलको तयारीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले दोस्रो सिजनको एनपीएलमा ३५ देखि ४० करोड रूपैयाँ उठ्ने अनुमान गरेको बताएका हुन् । प्रयोजकबाट १५ करोड ३० लाख, सहभागी टिमहरूबाट ९ करोड, ओटीटीबाट पाँच करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोडसम्म उठ्ने अनुमान क्यानको छ ।

यस्तै प्रतियोगिताको पुरस्कार रकमसमेत घोषणा भएको छ । यस सिजन पुरस्कार रकममा कुनै घटबड गरिएको छैन । क्यानकाअनुसार विजेता टोलीले १ करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् । दोस्रो संस्करणको एनपीएल सोमबारदेखि सुरू हुनेछ ।