मुख्यमन्त्री नियुक्ति र सभामुखको विरोधमा प्रदर्शन जारी : उपसभामुखद्वारा चौरमा प्रदेशसभा सञ्चालन

कार्तिक २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुख्यमन्त्री नियुक्ति र सभामुखको विरोधमा प्रदर्शन जारी : उपसभामुखद्वारा चौरमा प्रदेशसभा सञ्चालन

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति र सभामुखविरूद्ध सात राजनीतिक दलले आन्दोलन जारी राखेका छन् ।

मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको र सभामुखले पदीय आचरण विपरित कार्य गरेको विरोधमा राजनितिक दलहरूले कार्यकर्ता उतारेर शनिबार पनि जनकपुरमा प्रदर्शन गरेका हुन् । यसअघि पनि प्रदेशसभा सदस्यहरूले मधेस भवन अगाडि धर्ना दिँदै आएका थिए । 

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो भने २४ गते एक होटलमा सपथग्रहण गराउनुभएको थियो । 

सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए तर उपधारा २ अनुसार सरकार बन्ने अवस्था हुँदा-हुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर एमालेको नेतृत्वमा सरकार बनाएको भन्दै सात दलका नेताहरू विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

सात राजनितिक दलहरूले सभामुख रामचन्द्र मण्डलविरूद्ध भने पदीय आचरण विपिरित कार्य गरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सभामुख मण्डलविरूद्धको अविश्वासको प्रस्ताव लिएर जाने क्रममा सांसदहरूमाथि हातपात समेत भएको थियो । 

आफूविरूद्ध अविश्वासको प्रस्ताव आएपछि सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गर्नुभएको थियो । सरकार गठन र सभामुखको कदमको विरोधमा सात दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिबार जनकपुरमा प्रदर्शन गरेका हुन् । यसैबीच मधेस प्रदेशकी उपसभामुख वविताकुमारी राउतले चौरमा प्रदेशसभा सञ्चालन गर्नुभएको छ । सभामुखमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि यसको प्रक्रिया अगाडि बढाउनुपर्ने उपसभामुख राउतले बताउनु भयो ।

उहाँले सभामुखविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसदहरूलाई पदमुक्त गर्न नमिल्ने जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.