
अर्घाखाँची । जेन-जी आन्दोलनका क्रममा काठमाडौंको बानेश्वरमा भदौ २३ गते प्रहरीको गोली लागि मृत्यु भएका अर्घाखाँचीका माधव सारू मगरको परिवारले आफ्नो छोरा गुमाएको दुई महिना पुग्दा पनि सरकारले शहीद घोषणा गर्नेबाहेक अरू केही गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
परिवारको साहारा जेठो छोरा नै नरहेपछि अरू छोरोछोरीको भविष्यको निम्ति बुबा चन्दबहादुर फेरि वैदेशिक रोजगारीमा जाने बाध्यतामा हुनुहुन्छ । पछिल्लो ९ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका चन्द्रबहादुर सारू छोरा माधवको जेन-जी आन्दोलनमा मृत्यु भएको खबर सुनेर स्वदेश फर्कनुभएको थियो ।
परिवारको भविष्यको साहारा देशका लागि शहीद भए पनि सरकारले शहीद परिवारलाई उचित रोजगारीको व्यवस्था गरिदेला कि भन्ने आशा निराशामा परिणत भएपछि चन्द्रबहादुर फेरि विदेश जाने बाध्यतामा हुनुहुन्छ । अर्घाखाँचीको झुमिका स्थान नगरपालिका-४ फलाम खिल्जी धारापानीका माधव बुटवलको कालिका माविबाट १२ कक्षा उत्तीर्ण गरी थप अध्ययन र रोजगारीको खोजीमा काठमाडौं पुग्नुभएको थियो ।
देशमा बढ्दो भष्ट्राचार र बेथितिको अन्त्य गर्दै आमूल परिवर्तन ल्याउने अभियानमा सहभागी भएका माधव बीस वर्षको कलिलै उमेरमा देशका लागि शहीद बन्नुभयो । सबैसँग बोलीहाल्ने, अनुशासित, पढाइमा अब्बल उहाँ टोलसमुदायमा सबैको प्रिय हुनुहुन्थ्यो ।
माधव घरका जेठा छोरा हुनुहुन्थ्यो । उहाँको निधनपछि बुवा, आमा र भाइ-बहिनीको सहारा टुटेको छ । उहाँको परिवारले आन्दोलनमा सहभागी भएकै आधारमा निहत्था व्यक्तिलाई गोली हान्नेलाई कारवाही गरी आफूहरूलाई न्याय, शहीद परिवारलाई स्वदेशमै रोजगारी रसदमुकाम सन्धिर्खकमा शहीदको शालिक निर्माण गरिदिन सरकारसँग माग गरेका छन् ।
जेन-जी आन्दोलनका शहीदको आत्मालाई शान्ति दिन सरकारले के गर्छ भन्ने प्रश्न पेचिलो छ । तर परिवार भन्छन्- जबसम्म सुशासन र न्यायको भावना कार्यान्वयन हुँदैन, तबसम्म शहीदको बलिदानको साँचो सम्मान हुनेछैन ।