एन्फाले सबैस्तरका लिग र फुटबल प्रतियोगिता चाँडै गर्नुपर्ने खेलकुदमन्त्रीकाे भनाइ

कार्तिक २४, २०८२ |खेल ब्युरो
 एन्फाले सबैस्तरका लिग र फुटबल प्रतियोगिता चाँडै गर्नुपर्ने खेलकुदमन्त्रीकाे भनाइ

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले 'ए' डिभिजन लिगका साथै सबैस्तरका लिग र फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाले चाँडै गर्नुपर्ने बताएका छन् । 

एसियन कप छनोट र बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि सिनियर पुर"ष टिमलाई बिदाइ गर्दै मन्त्री गुप्ताले घरेलु फुटबल चाँडै सुरू गर्न एन्फा जिम्मेवार हुनुपर्ने बताएका हुन् । घरेलु फुटबल नहुँदा खेलाडीलाई फिटनेस र जिवनयापनमै समस्या भइरहेको समयमा टिम भने पूर्ण आत्मविश्वासका साथ खेल्न सक्ने अवस्था नभएको खेलाडीले बताएका छन्। यस्तोमा मन्त्री गुप्ताले पनि चाँडै लिग हुने विश्वास लिएको बताएका हुन् ।

नेपाली फुटबल टिम यही कात्तिक २७ गते बंगलादेशमा हुने एक मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदैछ। त्यसपछि नेपालले एएफसी एसियन कप छनोटमा मलेसियासँग खेल्ने तालिका छ। बंगलादेशसँगको खेलका लागि नेपाली टिमले तीन दिन मात्रै अभ्यास गरेको छ।

एसियन कपमा छनोटमा नेपालले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन। समूहको पुछारमा रहेको नेपालले खेलेका सबै चार खेलमा नै हार ब्यहोरेको छ। यता दुई महिना अघि नेपालमा नै बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल हुने तालिका भए पनि जेन-जी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो। पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि नेपालले फेरि बंगादेशमा अर्को मैत्रीपूर्ण खेल्न लागेको हो ।