एन्फा, खेलाडी र क्लबबीचको बैठक मंगलबार सिंहदरबारमा बस्ने

कार्तिक २४, २०८२ |खेल ब्युरो
एन्फा, खेलाडी र क्लबबीचको बैठक मंगलबार सिंहदरबारमा बस्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फा, शीर्ष डिभिजन लिगका क्लब र खेलाडीहरूबीच मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा बैठक हुने भएको छ ।

एन्फा र नेपाल फुटबल खेलाडी संघबीच सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तय बैठक अवरोध भएपछि खेलकुद मन्त्रालयको पहलमा तीन पक्षबीच मंगलबार सिंहदरबारमा बैठक हुने भएको हो । यसअघि पनि एन्फा, शीर्ष डिभिजन लिगका क्लब र खेलकुद मन्त्रालयबीच लिग गर्ने विषयमा छलफल भएको थियो । 

उक्त छलफलपछि नै एन्फा र क्लबबीच शीर्ष डिभिजन लिग आगामी वर्ष गर्ने सहमति भएको हो । त्यो निर्णयको विरोध गर्दै खेलाडीहरू आन्दोलन उत्रिएका हुन् । फुटबल खेलाडीहरूले शहीद स्मारक ‘ए’ डिभिजन लिग गराउन माग राख्दै केही दिनअघि एन्फा गेटमा आन्दोलन सभा आयोजना गरेका थिए ।

सोही घटनापछि एन्फाले खेलाडीलाई वार्तामा बोलाएको थियो । खेलाडी संघले बैठकको प्रत्यक्ष प्रसारण गर्न माग राखेपछि दुई पक्षबीच एन्फामा तय बैठक हुन नसकेको हो । एन्फाले आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै खेलाडीलाई छलफलमा बोलाए पनि बैठक हुन सकेन । 

बैठकअगाडि नै खेलाडीहरूले समाजिक सञ्जालबाट बैठक लाइभ गरे मात्र छलफलमा बस्ने स्पष्ट पारेका थिए । तर एन्फाले उनीहरूको प्रस्ताव अस्वीकार गरेपछि सोमबार हुने भनिएको बैठक अवरोध भएको हो । अब मन्त्रालयको रोबहरमा एन्फा, क्लब र खेलाडीबीच सिंहदरबारमा बैठक बस्ने भएको छ । खेलाडीहरूले आन्दोलनप्रति चासो राख्दै बैठक आह्वान गरेकोमा एन्फालाई धन्यवाद दिएका थिए ।

तर खेलाडीले आम फुटबलप्रेमीको पनि चासोको विषय भएकोले प्रत्यक्ष प्रसारणको माग राखे । प्रत्यक्ष प्रसारणको माग सुनुवाइ नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो । फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले ट्रान्सपरेन्सी चाहिएको र वास्तविक समस्या के रहेछ भन्ने सरोकारवालाहरूलाई देखाउन आवश्यक रहेकाले लाइभ माग गरिएको उल्लेख गरेका छन् । 

बन्द कोठमा जे पनि सम्झौता हुनसक्ने र एन्फाले आपसी बैठक प्रत्यक्ष रूपमा सार्वजनिक नगरौं भन्ने कुरा गरेपछि आफूहरूले बैठक बहिस्कार गरेको उनको भनाइ छ । गत सोमबार एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठकले यस वर्ष पनि शीर्ष डिभिजन लिग नहुने निर्णय गरेको थियो । 

शीर्ष डिभिजन लिगको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेपछि खेलाडीहरू आक्रोसित भएका हुन् । तीन दिनपछि खेलाडीहरू आन्दोलनमा उत्रिएका थिए । एन्फा लिग आयोजनाबाट भाग्न खोजेको र लिग हुनैपर्ने भन्दै खेलाडीले आह्वान गरेको आन्दोलनमा सरोकारवालाले पनि समर्थन गरेका छन् ।