अझै कम भएन ओलीको दम्भ !

कार्तिक २४, २०८२ |दशरथ राई
अझै कम भएन ओलीको दम्भ !

काठमाडौं । जेन-जीले गरेको दुई दिनको विद्रोहबाट राजीनामा दिन बाध्य भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ अझै कम भएको छैन । 

प्रधानमन्त्रीबाट राजीनामा दिएपछि १० दिनसम्म नेपाली सेनाको संरक्षणमा रहेर सार्वजनिक भएका ओलीको प्रवृत्ति अहिले पनि उस्तै देखिएको छ । जेन-जीले गरेको विद्रोहलाई उहाँले स्वीकार त गर्नुभएको छैन नै अन्तरिम सरकारलाई असंवैधानिक भन्दै आउनुभएको छ । त्यति मात्र नभएर आफ्नै पार्टी एमालेभित्र पनि फेरि पेलाहा व्यवहार सुरू गर्नुभएको छ ।

जेन-जीको विद्रोह थेग्न नसकेपछि गत भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली सेनाले बालुवाटारबाटै हेलिकोप्टरबाट उद्धार गरेको थियो । १० दिनसम्म नेपाली सेनाको संरक्षणमै रहेका उहाँ असोज २ गते मात्रै भक्तपुरको गुण्डु पुग्नुभएको थियो । 

त्यसपछि केही समय गुमनाम जस्तै रहे पनि पछिल्लो समय उहाँले आफ्नो विगतकै स्वभाव देखाउन थाल्नुभएको छ । जेन-जीले गरेको विद्रोहलाई उहाँले स्वीकार गर्नुभएको छैन । बरू विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग अघि सारेर अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ को चुनाव हुनै नसक्ने बताइरहनुभएको छ । 

जेन-जी विद्रोहपछि गठन भएको अन्तरिम सरकारलाई असंवैधानिकको बिल्ला भिराइरहेका ओलीले आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक आयोगलाई समेत सहयोग गर्नुभएको छैन । कहिले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिँदै त कहिले आन्दोलनमा घुसपैठ भएको भन्दै क्षतिको जिम्मेवारी समेत लिन मान्नुभएको छैन ।

तत्कालीन सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसकेको भन्दै जेन-जीले विद्रोह गरेका हुन् । तर ओली त्यसलाई अझै स्वीकार गर्न तयार हुनुहुन्न । अन्तरिम सरकारप्रति निकै आक्रामक देखिएका ओलीमाथि उच्चस्तरीय न्यायिक आयोगले बयानका लागि बोलाउने तयारी गरेको छ । तर उहाँ बयान नै नदिने अडान लिइरहनुभएको छ । 

जबकी आफ्नो कुनै कसुर नभए पनि उहाँले आयोगमा पुगेर स्पष्ट पार्छु भन्न सक्नुपर्ने थियो । बरू उहाँले आफ्नो बचाउका लागि एमालेका युवालाई सडकमा उत्रन निर्देशन दिनुभएको छ । विरोध प्रदर्शन गर्दा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनु पर्ने कानुनी व्यवस्था भए पनि ओलीले आवश्यक नपर्ने भन्दै राज्यका निकायहरूलाई खुला चुनौती दिइरहनुभएको छ ।

सरकारविरूद्ध मात्र होइन, ओलीले आफ्नै पार्टीका नेताहरूविरूद्ध पनि आक्रोस व्यक्त गरिरहनुभएको छ । जेन-जीहरूले परम्परागत राजनीतिक दलहरूको नेतृत्व पुस्तान्तरण हुनुपर्ने माग गरिरहेका छन् । एमालेमा पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग बढ्दो छ । तर ओली एक महिनापछि हुने एमालेको ११ औं महाधिवेशनबाट फेरि नेतृत्वमै रहने चाहना राखिरहनुभएको छ । 

नेतृत्व चयन गर्ने विधि र प्रक्रिया हुन्छ । तर ओलीले त्यसको बेवास्ता गर्ने संकेत दिइसक्नुभएको छ । उहाँले आफूले बोलेपछि ११औं महाधिवेशन सकिने र नेतृत्वमा थप छलफल नहुने घोषणा गरिसक्नुभएको छ । ओली आफूले जे भन्यो त्यो नै कानुन हो जसरी अभिव्यक्ति दिइरहनुभएको छ । 

उहाँको बोलीमा लगाम लगाउन खोज्ने एमालेकै नेताहरू निशानामा परिरहेका छन् । नेतृत्वमाथि प्रश्न उठाउनेहरूलाई पार्टी नै छाडेर जान धम्की दिने त कहिले आफ्नो निर्देशन अकाट्य हुने भन्दै उहाँ निरंकुश शैली अपनाइरहनुभएको छ । दुई महिनाअघि सारा राज्यसत्ता आफ्नै हातमा हुँदा सेनाको हेलिकोप्टर चढेर भाग्नुपरेको घटनालाई उहाँले क्रमशः बिर्संदै गएको देखिन्छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।