
काठमाडौं । गत भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा ८० अर्ब रूपैयाँ बराबरको क्षति बेहोरेको निजी क्षेत्रले प्रहरीले आफ्नो जाहेरीसमेत नबुझेको गुनासो गरेको छ ।
केहीको जाहेरी लिए पनि दोषी पक्राउ परेका छैनन् । यसले गर्दा व्यवसायीमा त्रासको स्थिति कायमै छ । आन्दोलनका क्रममा क्षति पुगेका व्यवसायिक प्रतिष्ठानको पुनः सञ्चालन तथा थप लगानी गर्न व्यवसायी डराइरहेका छन् । गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा २ सय ११ वटा औद्योगिक प्रतिष्ठानमा पूर्ण क्षति तथा ४ सय २७ वटामा आंशिक क्षति भए ।
८० अर्ब बराबरको क्षति भएको आकलन छ । भाटभटेनीको मात्रै १२ वटा शाखा पूर्ण रूपमा जलाइएका छन् । यति धेरै क्षति बेहोरे पनि दोषीलाई कारबाहीका लागि प्रहरीमा दिइएको जाहेरीसमेत दर्ता नगरिएको गुनासो निजी क्षेत्रले गरेको छ । केहीमा जाहेरी लिए पनि आगजनी गर्नेहरू पक्राउ परेका छैनन् । जसका कारण क्षति पुगेका व्यवसायिक प्रतिष्ठान पुनः सञ्चालन गर्न व्यवसायी डराइरहेका छन् ।
त्रासकै कारण सीजी, वर्णबास होटललगायतका केही व्यापारिक प्रतिष्ठानले मर्मतको कामसमेत सुरू गरेका छैनन् । यतिमात्र होइन, लगानीकर्ताको निजी आवासमा समेत आगजनी भएको थियो । निजी निवासमा आगजनी गर्नुपूर्व ड्रोन नै उडाइएको र योजनाबद्ध रूपमा आगजनी गरिएको निजी क्षेत्रको भनाइ छ । यस्तो योजनाबद्ध आगजनीको प्रमाण बुझाउन खोज्दा समेत प्रहरीले जाहेरी लिन नमानेको र सरकार भएको अनुभूत गर्न नसकेको उनीहरूको गुनासो छ ।
एनसेलले पनि प्रहरीमा जाहेरी दिए पनि आगजनी गर्नेहरू कोही पनि कारबाहीमा परेका छैनन् भने लुटिएका उपकरण फिर्ता भएका छैनन् । एनसेलले गत सेप्टेम्बर १५ मा काठमाडौं जिल्ला प्रहरी कार्यालयमा सीसीटीभी फुटेजसहित जानकारी गराए पनि दोषीमाथि कारबाही नभएपछि कार्यालयसमेत सञ्चालन गरेको छैन, कर्मचारीले घरबाटै काम गरिरहेका छन् ।
चन्द्रागिरि केबल कारको बटम स्टेशनमा आगजनी भएकोमा मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको छ । तर, दोषीमाथि कारबाही अहिलेसम्म भएको छैन । उपत्यका बाहिरका व्यवसायी पनि अहिलेसम्म आगजनी र तोडफोडमा संलग्न पक्राउ नपरेको गुनासो गर्छन् ।
यता नेपाल प्रहरीले भने सबै उजुरी लिएको र काबारहीका लागि अनुसन्धान पनि सुरू गरेको दाबी गरेको छ । प्रहरी कार्यालयसमेत क्षतिग्रस्त भएका कारण पहिले जाहेरी दर्ता नभए पनि अहिले जाहेरी बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार अहिलेसम्म काठमाडौंमा आगजनी गर्नेमध्ये १ सय ७१ जना पक्राउ परेका छन् ।
आफ्नो सम्पत्तिमा आगजनी गर्नेहरू पक्राउ नपर्दा निजी क्षेत्र अझै हतास र त्रासको मनस्थितिमा छ । जाहेरीसमेत नलिइँदा त उनीहरूले सरकार भएको महसुससमेत गर्न सकेका छैनन् । अर्थतन्त्रको इन्जिन मानिने निजी क्षेत्रलाई लगानीका लागि आश्वस्त नबनाउने हो भने रोजगारी र आर्थिक वृद्धिमा असर पार्नेमात्रै हैन राज्यको आम्दानीमा समेत ठूलो गिरावट ल्याउने जोखिम हुन्छ ।