उत्तरपूर्वी नाइजेरियामा जिहादी समूहहरूबीच भीषण झडप, करिब दुई सयको मृत्यु

सरकारी सेनाद्वारा द्वन्द्वग्रस्त लेक चाड क्षेत्रलाई फिर्ता लिने प्रयास जारी
कार्तिक २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
उत्तरपूर्वी नाइजेरियामा जिहादी समूहहरूबीच भीषण झडप, करिब दुई सयको मृत्यु

काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा जिहादी समूहहरूबीच भएको भीषण झडपमा करिब दुई सय जनाको ज्यान गएको छ ।

बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका-आइएसडब्लुएपीबीच लेक चाडको किनारा क्षेत्रमा आइतबारदेखि भएको भीषण युद्ध भएको स्थानीय गुप्तचर निकाय, मिलिसिया र जिहादी स्रोतहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

आइएसडब्लुएपीले इस्लामिक स्टेटसँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै अलग भएपछि सन् २०१६ देखि नै बोको हरामसँग द्वन्द्व सुरू भएको हो । त्यसयता, दुबै समूहबीच चाड ताल क्षेत्रको नियन्त्रणका लागि अनेकौँ पटक रक्तपातपूर्ण युद्ध भएका छन् । लेक चाड क्षेत्र नाइजेरिया, नाइजर, चाड र क्यामरुनको सीमामा पर्ने रणनीतिक क्षेत्र हो । यहाँ जिहादीहरूले आफ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् । 

केही वर्षयता नाइजेरियाली सेनाले उनीहरूविरूद्ध कारबाही तीव्र पारेको भए पनि बोको हराम र आइएसडब्लुएपीबीचको सङ्घर्षले क्षेत्रलाई अझ अस्थिर बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लडाइँपछि धेरै शव अझै पनि उक्त क्षेत्रमा फेला परिरहेका छन् । सुरक्षाकर्मीले अझै युद्धस्थलको नियन्त्रण लिन प्रयास जारी राखेको जनाइएको छ ।