
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रङ्गशालाको काम फेरि एक वर्षपछि सुरू भएको छ ।
सरकारले भुक्तानी रोकेको भन्दै ठेकेदार कम्पनीले काम बीचमै छोडेपछि निर्माण ठप्प भएको थियो । त्यही अधुरो काम पूरा गर्न सार्वजनिक खरिद नियमावलीको १४औं संशोधन आएपछि विशेष व्यवस्थाअनुसार एक वर्षपछि निर्माण कार्य अघि बढाइएको हो ।
'मिनी' रङ्गशालाको काम तेस्रो पटक म्याद थपेर पुनः सुरू गरिएको छ । २०७६ सालदेखि निर्माण सुरू भएको रङ्गशालाको काम सुरूआती चरणमा गिरी जेभी कन्स्ट्रक्सनले पाएको थियो । तर, तोकिएको समयभित्र काम गर्न नसक्दा दुई पटक म्याद थपिएको थियो ।
अहिले तेस्रोपटक निर्माण कम्पनीका साझेदार जेभी लिम्बु सुनकोशीलाई आन्तरिक सहमतिमार्फत जिम्मेवारी दिइएपछि फेरि काम सुरू गरिएको हो । बाँकी संरचनाहरू निर्धारित समयभित्र सम्पन्न गर्ने तयारी भइरहेकाले खेलाडी र स्थानीय खेलप्रेमी उत्साहित भएका छन् ।
६ हजार दर्शक क्षमताको प्यारापिटको बाहिरी निर्माण कार्य करिब-करिब सम्पन्न भएको छ । त्यस्तै, भित्रको रङरोगन, कोठा निर्माण र विद्युत् जडान कार्यसमेत भइरहेको छ । निर्माणस्थलमा दैनिक ८० जना मजदुर खटिएका छन् । कामले तीव्रता पाएसँगै रङ्गशाला छिट्टै पूरा हुने आशा पलाएको छ ।
कुल ४१ करोड ६२ लाख २७ हजार रूपैयाँको लागतमा निर्माण भइरहेको यो रगंशाला पटक-पटक म्याद थपिँदासमेत काम सम्पन्न हुन नसकेपछि अपूरो आएको थियो । अधुरो काम सम्पन्न गर्न सार्वजनिक खरिद नियमावलीको १४औं संशोधन आएपछि विशेष व्यवस्थाअनुसार पुनः तेस्रोपटक म्याद थपेर काम अघि बढाइएको हो । २०८३ असार मसान्तसम्ममा काम सम्पन्न गर्नुपर्ने सामाजिक विकास कार्यालयले जनाएको छ ।
रंगशालाको मैदान, लाइट, पार्किङको काम बाँकी छ । हाल कामले गति लिइरहेको भए पनि सरकारले गत वर्ष गरेको कामको करिब तीन करोड भुक्तानी नदिँदा ठेकेदार कम्पनी समस्या परेको छ ।