
काठमाडौं । नेपाल पुलिस क्लब पहिलो संस्करणको झापा महिला गोल्डकपको च्याम्पियन बनेको छ।
झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा साेमबार भएको फाइनलमा पुलिसले एपीएफलाई १-० गोलले हराएको हो । खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोल नै निर्णायक बन्यो । नेपाली राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीले भरिएको एपीएफले खेल अवधिभरी निकै राम्रो प्रदर्शन गरेको भए पनि गोल भने फर्काउन सकेन।
फाइनलका लागि ठूलो संख्यामा समर्थक उपस्थिति भएका थिए । नेपाल पुलिस क्लबले सेमिफाइनल खेलमा संकटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका थिए। प्रतियोगिताको विजेता पुलिसले १० लाख १० हजार रूपैयाँ र दोस्रो भएको एपीएफले पाँच लाख रूपैयाँ पाएको छ ।